नेविसंघको नेतृत्वमा शीर्ष नेताका आ–आफ्नै स्वार्थ



काठमाडौंः नेपाल विद्यार्थी संघलाई आफूअनुकूल बनाउन कांग्रेस शीर्ष नेताहरू लागिपरेका छन् । नैनसिंह महर नेतृत्वको कार्यसमितिको अवधि माघ २ देखि समाप्त भएपछि उनीहरू आआफ्नै पक्षको तदर्थ समिति बनाउन कस्सिएका हुन् । 

महर नेतृत्वको कार्यकाल भदौ २ मै सकिए पनि महाधिवेशन गर्ने प्रयोजनका लागि पहिलो पटक २ र दोस्रो पटक ३ महिना समय थपिएको थियो । कामचलाउमा परिणत भएको अहिलेकै कार्यसमिति लम्ब्याउने कि तदर्थ समिति बनाउने भन्नेमा संघ र पार्टीभित्र मतैक्य छैन । 

पार्टी सभापति शेरबहादुर देउवा महरको कार्यक्षमताप्रति सन्तुष्ट छैनन् तर गृहजिल्ला डडेलधुराकै भएका कारण उनको विपक्षमा जान पनि तयार देखिँदैनन्। संस्थापनपक्षमै उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशरण महत महरको विकल्प खोजीमा छन् । तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने तर्क उनीहरूको छ । 

महामन्त्री पूर्णबहादुर खडका भने महर नेतृत्वकै समिति लम्ब्याउनुपर्ने पक्षमा छन् । निधि संघका वर्तमान महामन्त्री सरोज थापालाई तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन नसक्ने भन्दै थापासहित संस्थापनपक्षका ९ जनाले सुरुमै राजीनामा दिएका थिए । 

संस्थापनपक्षबाटै पार्टी सहमहामन्त्री महत वर्तमान कार्यसमितिकै सहमहामन्त्री प्रेम जोशीलाई तदर्थ समितिको संयोजक बनाउने कसरतमा छन् । उनी संघको महाधिवेशन गराउन पार्टीबाट खटिएका निर्देशन समिति संयोजकसमेत हुन् ।

संस्थापनपक्षबाटै उपाध्यक्ष पुष्प शाही तदर्थ समितिको नेतृत्वका लागि राजीनामा दिएर बसेका छन् । उनी देउवापत्नी आरजुनिकट छन् । संस्थापन इतरपक्षमा पनि महरलाई नै थप समय दिने कि तदर्थ समिति बनाउने भन्नेमा एकमत छैन । 

वरिष्ठ नेता रामचन्द्र पौडेल मनोजमणि आचार्यको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । आचार्य महरसँगै संघको एघारौं महाधिवेशनमा प्रत्याशी बनेका थिए । पौडेलको यो अडानमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतको साथ छ । तर, महामन्त्री शशांक कोइराला दुवैतिर ठिक्क छन् ।

तदर्थ समिति बनाए वा अहिलेकै कार्यसमितिलाई थप समय दिए पनि मान्य हुने उनको भनाइ छ । संस्थापन इतरमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने महाधिवेशन गराउन महर नेतृत्वकै कार्यसमितिलाई अझै ६ महिना समय दिनुपर्ने पक्षमा छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्