नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया



काठमाडौं : उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्।

गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा राजदूत जोले उत्तर कोरियालीलाई भिसा लिन झन्झटिलो भएकाले प्रक्रिया सहज बनाइदिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्र संघको बारम्बारको पत्राचारपछि गृहले उत्तर कोरियालीमाथि निगरानी बढाएको छ। गृहले उनीहरूलाई उद्योग सञ्चालनमा अझै रोक लगाएको छैन। प्रहरीको सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) लेसमेत उत्तर कोरियालीको गतिविधि र उनीहरूले सञ्चालन गरिरहेका उद्योगमाथि निगरानी बढाएको छ।

उत्तर कोरियालीले नेपालमा अनअराइभल भिसा पाउँछन्। सरकारले पछिल्लो समय आईटी कम्पनी र रेस्टुरा खोल्न अनुमति दिँदै आएको छ। २०३१ जेठ २ मा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। उत्तर कोरियालीले तनहँुमा ‘ने कोर्यो’ अस्पताल र काठमाडौंका विभिन्न स्थानमा रेस्टुरेन्ट र आईटी कम्पनी चलाइरहेका छन्। अमेरिकाको भ्रमणका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग त्यहाँका विदेशमन्त्री माइक पोम्पेओले नेपालमा उत्तर कोरियालीको उपस्थिति र लगानीबारे जिज्ञासा राखेका थिए।

पुस पहिलो साता पत्नीसहित आएका राजदूत जोे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजनीतिक भेटघाटमा व्यस्त छन्। भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत जोले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका छन्।

जो यसअघि दक्षिण अफ्रिकाका लागि राजदूत थिए। अमेरिकासँगको वार्ता सकारात्मक भइरहेको दुवै पक्षले दाबी गरे पनि राष्ट्र संघले उत्तर कोरियाविरुद्ध लगाएका नाकाबन्दी कायमै राखेको छ। नेपालले राष्ट्र संघको सुरक्षा परिषद्का कतिपय निर्णय पालना गर्न उदासिनता देखाएको छ। त्यसबाट राष्ट्र संघ र नेपालस्थित अमेरिकी, जापानी, दक्षिण कोरियाली दूतावासका अधिकारी असन्तुष्ट रहेको परराष्ट्र स्रोतले जनाएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्