टेलिफोन सेवा अवरुद्ध : सेवाग्राही मर्कामा



हुम्ला : चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध रहेको छ ।

टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् । चङ्खेली गाउँपालिका-६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो ।

माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए ।

टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए । गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । “एक महिना भयो, आफन्तजनसँग कुराकानी गर्न सकिएको छैन । कतिपय कामका लागि हिँडेर एक गाउँबाट अर्को गाउँ जानुपर्ने बाध्यता छ । यससम्बन्धी नेपाल टेलिकमलाई जानकारी गराएको भए पनि अहिलेसम्म मर्मतसम्भार गरिएको छैन् ।”

गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिंकबाट सामाजिक सञ्जालमा जोडिने गरेको त्यहाँका स्थानीयवासीले बताउने गरेका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताए । उनले भने, “एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन जिल्ला बाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्