एमसिसी पारित हुन्छ : पूर्वमन्त्री बस्नेत



काठमाडौं : नेकपाका केन्द्रीय सदस्य तथा युवासंघका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ । ” पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँ नयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाए ।

गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारले सोधिएको एक प्रश्नको जवाफमा उनले दोषी भएमा कोही उम्किन नसक्ने बताए । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

युवा संघका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसार नै काम गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्