अपाङ्गतामैत्री सडकपेटी नबन्दा ह्वीलचेयर प्रयोगकर्ताको कष्टकर दैनिकी : सरकार भन्छ- ‘खाली ठाउँ छैन’



काठमाडौं : संघीय राजधानी काठमाडौंमा सबल नागरीकलाई त सडकपेटीमा हिँड्न एकदमै कष्टकर छ भने फरक क्षमता भएका व्यक्तिका लागि त यात्रा कस्तो होला कुरै नगरौं । अपाङ्गता भएका व्यक्ति ह्विलचियर चढेर सजिलै गन्तव्यमा पुग्न सक्ने अवस्था छैन । सडकपेटीमा कतै खाल्डाखुल्डी छन् त कतै लत्रेका बिजुलीका तार, सवारी पार्किङ, ढुङ्गा, गिट्टी, बालुवा थुपारिएका, कति ठाउँमा त सडकपेटी नै छैन, भएका अधिकांश सडकपेटीमा व्यापारका लागि सामान फिजाइदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था छ ।

त्यति मात्र हैन कतै ह्विलचियर नै नछिर्ने साँघुरा पेटी छन् भने कतिपय सडक ह्विलचियर उक्लन नसक्ने उकाला छन् । भद्रकाली, सुन्धारादेखि रत्नपार्कसम्मको सडकपेटी हेर्दा, सडकपेटी फराकिलै देखिन्छ । तर, अरु ठाउँको सडकपेटी अपाङ्गतामैत्री छैनन् ।

अपाङ्गतामैत्री सडकपेटी नहुँदा मुख्य सडकबाटै ह्विलचियरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बौद्धिक अपाङ्ग र अभिभावकहरूको राष्ट्रिय संघले जनाएको छ ।

मुख्य सडकबाट हिँड्दा सवारीको अत्यधिक चाप भएकाले यात्रुको ज्यान जोखिममा हुन्छ । अपाङ्गता भएका धेरै व्यक्ति सडकमा कठिन ढंगले यात्रा गर्छन् । उदयपुरका जयन्त दनुवार दुवै खुट्टा प्यारालाइसि भएपछि ह्वीलचियरमा हिँड्न बाध्य छन् । काठमाडौंमा ह्विलचियरमा यात्रा गर्न एकदमै कठिन हुने उनको गुनासो छ । ‘सडकका पेटी कुनै सद्धे छैनन् । भएका पनि एकदमै साँघुरा छन् । यहाँका सडकपेटीमा यात्रा गर्न हामीलाई मुस्किल छ ।’

कलंकीदेखि त्रिपुरेश्वरसम्मको सडकका अधिकांश सडकपेटी एकदमै साघुँरा छन् । त्यति मात्र हैन बानेश्वर, तीनकुनेलगायत सडकपेटीमा दृष्टिविहीन व्यक्तिले सहजै बाटो पहिचान गर्नेगरी ‘टाइल’ बिच्छाइएको छ । तर, ती टाइलको पनि अवस्था राम्रो छैन । सबै उप्किएका छन् । धेरै ठाउँमा आधासम्म मात्र टाइल पाइन्छ जसले गर्दा दृष्टिविहीनलाई यात्रा गर्न असहज हुने गरेको बौद्धिक अपाङ्ग र अभिभावकहरूको राष्ट्रिय संघका अध्यक्ष बाबु कृष्ण महर्जनले बताए ।

उनले भने–‘संघीय राजधानीको सडकपेटीको अवस्था त यस्तो छ । अरु ठाउँमा झन कस्तो होला ? महासंघले अपाङ्गतामैत्री संरचनाका लागि निर्देशिका बनाएर दिएको भए पनि सरकारले त्यसलाई व्यवास्ता गर्यो । भएको मापदण्ड पालना पनि अनिवार्य छैन । नक्सा, निर्देशिका एकातिर हुन्छ, काम अर्कोतिर । सुधारका लागि सम्बन्धित निकायसँग पटकपटक छलफल गर्दै आए पनि सुनुवाइ भएन ।’

अपाङ्गता भएकाको पक्षमा बोलेर दया देखाउने मात्र भए व्यवहारै परिवर्तन गर्नेगरी वकालत गर्ने कोही नभएको महर्जनको भनाई छ ।

महर्जन भन्छन्–अरबौं अरब रकम सिमित व्यक्तिहरुले खाइरहेका छन् । अपाङ्गमैत्री सडकपेटी बनाउन बजेट नआएको होइन् तर त्यो केहि सिमीत व्यक्तिले मिलेर खाइरहेका छन् । यस तर्फ सरकारको ध्यान गएको छैन ।’

यता राजधानीका सडक, सडकपेटी अपाङ्गमैत्री नभएको सडक विभागका महानिर्देशक केशब कुमार शर्माले स्विकार गरे ।

सडकपेटीमा खानेपानीलगायत संस्थाले भत्काएर यत्तिकै छाडिदिँदा समस्या हुने गरेको उनले बताए । ‘हामीले सडक बनाउँदा अपाङ्गमैत्री नै बनाउने भनेर काम गरेका हौँ,’ उनले भने–‘खानेपानीलगायत संस्थाले पेटी भत्काइदिँदा समस्या भएको हो । अब हामीले छुट्टै समाधान गर्दै छौं । त्यससँगसगै हामीसँग खाली ठाउँ नै नभएर हो । अहिले सवारी साधनको चाप बढ्यो । सडक ठूला बनाइयो तर सडक पेटी साँघुरा भए । यसमा हामीले केहि गर्न सक्दैनौं, किनकी खाली ठाउँ नै छैन ।’

सडकपेटीमा खाल्डाखुल्डी, सामान राख्ने लगाएतका काम चै महानगरपालीकाले गर्ने महानिर्देशक शर्माले बताए । यसैगरी यी समस्यालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रको सडकपेटी अब अपाङ्गता मैत्री बनाउन शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्