क्वारेन्टाइनबाट खुशी हुँदै घर फर्किए १७५ नेपाली



काठमाडौं : दुई साताअघि चीनको वुहान प्रान्तबाट उद्दार गरिएका १७५ जना नेपाली क्वारेन्टाइनबाट खुशी हुँदै घर फर्किएका छन् ।

सोमबार स्वास्थ्य परिक्षणबाट कोरोना भाइरसको संक्रमण नभएका पुष्टि भएपछि उनीहरु घर फर्किएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चीनबाट फर्किएर खरिपाटी क्वारेन्टाइनमा बसिरहेका नेपालीहरुमा कोरोनाभाइरसको संक्रमण नभएको र सोमबार नै घर फर्किन सक्ने बताएका थिए ।

चीनबाट उद्दार गरि ल्याइएका १७५ जनालाई विमानस्थलबाट सिधै भक्तपुर खरिपाटी क्वारेन्टाइनमा लगिएको थियो ।

१६ दिनसम्म एउटै क्वारेन्टाइनमा बसेका उनीहरु एकअर्कासँग परिवारजस्तै भइसकेका थिए । क्वारेन्टाइनमा बसेर सकुशल घर फर्किन पाउँदा खुशी हुँदै मोरङ बिराटचोकका सौरभ लुईँटेलले घर फर्किन पाउँदा एकदमै खुशी लागेको बताए ।

उनी यसै वर्ष स्नातकोत्तर अध्ययन गर्न चीनको वुहानको वाजोङ कृषि विश्वविद्यालयमा गएका थिए । उनले वुहानमा रहँदा डरलाग्दा परिस्थितीको सामाना गर्नुपरेको सम्झँदै खरिपाटी क्वारिन्टनमा बस्दा पारिवारिक वातावरणको अनुभव गर्न पाएको बताए ।

चीनबाट फर्किएका नेपालीहरुमा संक्रमण नदेखिनु नै ठूलो खुशीको विषय भएको बताउँदै लुईँटेलले नयाँ प्राकृतिक भाइरसको संक्रमणले अध्ययन गर्न ठाउँबाट विस्तापित हुन पुगेको तितो अनुभव गर्दै जीवनमा चुनौतिसँग जुध्ने हौसला मिलेको बताए ।

उनी भन्छन्, ‘जीवनमा हर कुराको अनुभव गर्नुपर्छ भन्ने आम भनाइ नै छ। त्यसले बलियो बनाउँछ भने जस्तै यस्तो अप्ठेरो अनुभव गर्न पाउँदा एक किसिमको शिक्षा पाएको जस्तो लागेको छ।’

उनले थपे, ‘यसरी पार पाइएला जस्तो लागेको थिएन। हामीलाई उद्धार गरेर ल्याइयो अनि हामीमध्ये कसैलाई पनि सङ्क्रमण देखिएन। यो नै सबैभन्दा ठूलो कुरा हो।’

सर्वसाधारणहरूलाई कोरोनाभाइरसको सङ्क्रमणबाट नअत्तालिन सुझाव दिँदै लुइटेल मास्क प्रयोग गर्न, साबुनले नियमित हात धुन र भिडभाडमा नजान सुझाव दिन्छन्।

उनले भविष्यमा आउनसक्ने जोखिमलाई ध्यान दिँदै पूर्वतयारीमा सबैले बस्नुपर्ने उल्लेख गर्छन्।

प्रतिक्रिया दिनुहोस्