अमेरिकामा कोरोना संक्रमणको आशंकामा चार प्रहरी अधिकृतसहित ३ हजार प्रहरी आइसोलेसनमा



अमेरिका : अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साथै २ सय २५ जनाभन्दा बढी संक्रमण भेटिएको पुष्टि भएको छ । अमेरिकामा हालसम्म १७ राज्यमा संक्रमण फेला परेको छ ।

यसैगरी अमेरिकाले कोरोना संक्रमणको आशंकामा चार अधिकृतसहित २ हजार ७ सय ७३ जना न्यूयोर्क प्रहरीलाई आइसोलेसनमा राखिएको छ । चीन, इटली, इरान, दक्षिण कोरिया, जापान लगायतका देशबाट फर्किएका प्रहरीहरुलाई आइसोलेसनमा राखिएको हो ।

अमेरिकाको न्यूयोर्क राज्य प्रहरीहरुलाई अहिले स्वास्थ्य विभागले परीक्षण गरिरहेको छ । स्वास्थ्य विभागले उनीहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ । न्युयोर्क राज्यका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरी न्युयोर्क सिटीमा कोरोनाविरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका छन् ।ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन, हात धुन, खोक्दा वा हाँछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्