फिका होली !



काठमाडौं : यो वर्षको होली आउन मात्र एक दिन छ, तर चहल पहल एकदमै कम छ । होली आएको हो की होइन् जस्तो भान भइरहेको छ । हुन पनि हो विगतका वर्षहरुमा एक हप्ता अघिदेखि पिचकारी, लोला हान्न, रङ दल्न शुरु हुन्थ्यो तर, यस वर्ष न कसैको हातमा लोला देखिएको छ, न त पिचकारी नै । कारण हो माहामारीको रुपामा विश्वभर फैलिएको कोरोनाभाइरसको त्रास ।

कोरोनाभाइरसको विश्वव्यापी संक्रमणले नेपाल पनि उच्च जोखिममा छ । नेपालमा हालसम्म एक जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिए पनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सुझाव छ ।

यस वर्षको होली काठमाडौं उपत्यका र पहाडी जिल्लामा भोलि (सोमबार) र तराईका जिल्लामा पर्सी (मंगलबार) मनाइँदैछ । होलीलाई खासगरी रंगको पर्व मानिन्छ । केही वर्षदेखि त होली पर्व झन् सबैको पर्व बन्न पुगेको छ । नेपाल आउने विदेशी पाहुना पनि होलीमा रम्ने थालेका छन् । होलीमा रमाइलो त कतिसम्म गर्न थालिएको छ भने टोलटोलमा मात्रै नभएर कुनै विशेष स्थान भाडामा लिएर सामूहिक रूपमा होली मनाउने गरिन्छ । वैमनश्य त्यागेर सद्भाव फैलाउने पर्वका रूपमा होलीलाई लिइने संस्कृतिविद्को भनाइ छ ।

सधै हर्षो उल्लासका साथ मनाइने होली यसपालि भने फिका हुने देखिएको छ । मानिसहरु होली मनाउने ‘मुड’ मै छैनन् । बालकुमारी बस्ने रोहित बज्राचार्यलाई होली मनाउन मन नै छैन । उनी भन्छन्–‘कोरोनाको संक्रमण विश्वभर फैलिएको छ । मनमा डर छ कसरी मनाउनु ? पहिलाको वर्षमा साथिभाईसँग मिलेर रमाइलो गथ्र्यौ । तर, यो वर्ष त्यस्तो केहि प्लान छैन । यो वर्षको होली फिका भएको छ । नरमाइलो लागेको छ ।’

पहिलाका वर्षमा होली लक्षित विभिन्न खाल्का कार्यक्रम हुने गरेका थिए तर यस वर्ष सुनसान छ । न त तारे होटलले होली कार्यक्रम राखेका छन्, न स्कुल–कलेजले होली मनाएका छन्, न कन्र्सटहरु न छन् ।

कोरोनाको त्रासले बजारमा चहलपहल धेरै घटेको छ । होली आउनु केही दिन अघिदेखि नै भीडभाड हुने न्यूरोड तथा असन क्षेत्रमा चहलपहल कम छ । पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार कम भएको व्यापारीहरु बताउछन् । कोटेश्वरमा पसल गर्ने बबिता कार्की यस वर्ष होलीको व्यापार एकदमै कम भएको बताउँछिन् । उनी भन्छिन्– ‘कोरोनाको प्रभावले होलीको व्यापार एकदम कम भएको छ । पहिलाको वर्षहरुमा एक दिनमै ५ देखि ७ हजार सम्मको व्यापार हुन्थ्यो तर, यो वर्ष हजार पुग्न मुस्किल छ ।’ होलीको सामान किन्ने मात्र हैन अन्य सामान किन्ने उपभोक्ता पनि घटेका छन् ।

सरकारले पनि यसपालि समूहमा होली नमनाउनु भनेको छ । विगतका वर्षमा समूह–समूह भेला भएर रंग तथा पानी छ्यापी होली मनाउने गरिएको भएपनि यसपटक सरकारले कोरोना भाइरसको जोखिम भएकाले त्यसो नगर्न भनेको हो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विगतका वर्षमा जस्तो समूहमा भेला भई भीडभाड नगर्न आग्रह गरेको छ । लोला हान्ने, पानी फ्याँक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने उल्लेख गरेको छ । उपत्यकामा मात्र हैन विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले पनि विगतका वर्षमा जस्तो होली नमनाउन आग्रह गरिनै रहेका छन् ।

मोरङ, धनुषा, चितवन, काभ्रे, कास्की, नवलपरासी, सुर्खेत, कैलालीलगायतका जिप्रकाले समूहमा होली नमनाउन सूचना जारी गरिसकेका छन् । उता, मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामूर्ख सम्मेलन मनाउने तयारी आयोजकको छ ।

सरकारले भने जस्तै यो वर्ष होली नखेलेर के भयो त ? अर्को वर्ष खेल्ने हो भन्नेहरु पनि धेरै छन् । सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोला यो वर्षको होली घरैमा होसियारीका साथ बिना रङ मिठा मिठा परिकार खाएर मनाउन सुझाव दिन्छन्

ध्यान दिनुपर्ने कुरा
हात साबुनपानीले कम्तीमा २० सेकेन्ड धुने,
दिनमा पटकपटक धोइरहने,
– सकेसम्म घरमै बस्ने,
– माक्स लगाएर हिड्ने,
– भिड्भाडमा नजाने,
भरसक हात नाक र मुखमा नलैजाने,
अनावश्यक भीडभाडमा नजाने,
– कसैलाई पनि जबर्जस्ती लोला हान्ने, रङ दल्ने काम नगर्ने,
– सकभर नखल्ने, खेलि हाले सफा पानीको मात्र लोला बनाउने र परिवारका व्यक्ति मात्र खेल्ने,
– अभिभावले आफ्ना साना साना बालबालिका ख्याल गर्ने,

प्रतिक्रिया दिनुहोस्