पक्की पुल निर्माण शुरु



भोजपुर : जिल्लाको पिखुवा खोलामा पक्की मोटरेबल पुल निर्माण शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत प्रदेश नं १ सरकारको रु छ करोड १३ लाख ५३ हजार लागतमा ७६ दशमलव तीन मिटर लामो मोटरेबल पक्की पुल निर्माण शुरु गरिएको हो ।

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङ जोड्ने सो पुलले दक्षिणी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुनेछ । पुललाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयले नियमित अनुगमन गरिरहेको छ भने पुलमा प्रयोग हुने सबै सामग्री ल्याब परीक्षण गरेरमात्र प्रयोगमा ल्याइएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले भन्नुभयो, “प्रदेश सरकारको बजेटमा जिल्लामा सञ्चालन भएको सायद मलाई लाग्छ यो सबैभन्दा लामो पुल हो, यसलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन हामी प्रतिबद्ध छौँ, यो प्रयोग हुने सबै सामग्रीको ल्याब टेस्ट गरिरहेका छौँ, नियमित अनुगमनसमेत गर्दै आएका छाैँ ।” पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले तोकिएको मापदण्डअनुसार समयमा सक्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।

जनप्रतिनिधि र स्थानीयवासीको सहयोग राम्रो रहेकाले काम गर्ने क्रममा प्राविधिक समस्या नआए तोकिएको समय अगावै काम सक्ने गरी जनशक्ति परिचालन गरेको कम्पनीको भनाइ छ । मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने, “यो हाम्रो जिल्लाको गौरवको योजना पनि हो, यसलाई कार्यालयले तोकेको मापदण्डअनुसार मैले काम गरिरहेको छ, काम गर्ने दौडानमा प्राविधिक समस्या देखिएन भने तोकिएको समयभन्दा अगावै काम सक्ने गरी यन्त्र उपकरणसँगै जनशक्ति परिचालन गरेको छु ।”

बर्षा शुरु भएपछि काममा बाधा हुने भएकाले यो समयमा कामलाई रातको समयमा समेत गर्ने गरेको श्रेष्ठले बताए । पुलको डिजाइन अवधि ५० वर्षको रहेको छ । सम्झौताअनुसार पुलको निर्माण दुई वर्ष अर्थात् २०७८ असारमा सम्पन्न गरिसक्नुपर्नेछ । पुल निर्माणले रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकाको सदरमुकामसँग सिधा पहुँच विस्तार हुनेछ । पुलको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत मङ्सिरमा शिलान्यास गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्