बाल महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री झापामा



झापा :  प्रधानमन्त्री केपी शर्मा ओली विहिबार गृहजिल्ला झापा आइपुगेका छन । 

झापाको दमकमा विहिबारदेखि सरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला आइपुगेका हुन । उनले कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, महान्यायाधिवक्ता अग्नि खरेल सहभागी छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए । 

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार प्रधानमन्त्री ओलीले विहिबार अपराह्न नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले विहिबारदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको प्रमका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

विसं २०२६ बाट चन्द्रगढी–काठमाडौं उडान भर्न सुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए । उनका अनुसार बुद्ध एयरका दुई, यतिका दुई, श्री एयरका दुई र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौंसम्मका दैनिक उडान भरिरहेका छन् ।

यही आउने फरवरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्ध एयरले बुधबार राति परीक्षण उडानसमेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्