प्रदेश १ को हिउँदे अधिवेशन तयारी अन्तिम चरणमा 



विराटनगर :  प्रदेश–१को प्रदेश सभाको हिउँदे अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको  छ । 

प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आह्वान गरेअनुसार यही माघ २० गते प्रदेश सभाको हिउँदे अविधेशन बस्न लागेको हो । यस पटक बस्ने हिउँदे अधिवेशनले प्रदेश १ को नाम र स्थायी राजधानीको विषय टुंगो लगाउने बताइएको छ ।

त्यही भएर पनि तीन दिनपछि सुरु हुने प्रदेश सभाको अधिवेशनलाई बडो महत्वका साथ हेरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए । भण्डारीले भरसक सर्वसहमतिका आधारमा यस विषयलाई टुंगो लगाउन आफूले सहजकर्ताको भूमिका खेलिरहेको बताए । 

त्यसका लागि सरकारले प्रस्ताव ल्याउने तयारी गरेको उनले बताए । ‘प्रदेश सरकारको विषय भए पनि नाम र राजधानीको निर्णय गर्ने अधिकार संसदलाई हुन्छ,’ उनले भने, ‘संसद सार्वभौम भएकाले पनि सांसदहरुले भनेकै कुरा हुन्छ ।’ 

विजनेसका रुपमा १३ वटा विधेयक संसदबाट पारित हुने जानकारी पनि उनले दिए । संसद सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा छलफलमा गएका र नयाँ दर्ता हुनेसमेत गरी १३ वटा विधेयकमाथि छलफल हुने उनले जानकारी दिए । सभामुख भण्डारीले प्रदेश संसद अन्तर्गतका विभिन्न विषयगत समितिलाई समेत यही अधिवेशनमा प्रक्रियामा गएर पूर्णता दिने तयारी गरिएको बताए ।

मिनी संसद भनिने विषयगत समितिमा संसदमा विचाराधीन विधेयकमाथि कुनै संशोधन परे दफावार छलफलका लागि पठाउने गरिन्छ । संसद मातहत प्रदेश १ मा अहिले न्याय प्रशासन तथा विधायन, सुशासन तथा योजना, अर्थ, सार्वजनिक लेखा, सामाजिक विकास, उद्योग पर्यटन तथा वतावरण र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास गरी सातवटा समिति छन् । समितिले पूर्णता नपाउँदा अहिले ज्येष्ठ सदस्यले अध्यक्षता गरिरहेका छन् । 

प्रदेश १ ले यसअघि २३ वटा कानुन निर्माण गरिसकेको छ । केही विधेयकहरु संघीय सरकारले नबनाएकोले छलफलमा जान सकेको छैन । शिक्षा, प्रदेश प्रहरी र प्रदेश लोक सेवासम्बन्धी विधेयकमाथि भने छलफल नै नभएको भण्डारीले बताए । यी विधेयक संघीय संसदमा दर्ता भइसकेका कारण संघीय संसदले बनाएपछि नबाझिने गरी प्रदेश सरकारले पनि कानुन बनाउने उनको भनाइ छ ।  

नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक गरेर प्रदेश १को प्रदेश सभा ९३ सदस्यीय रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्