कोसी राजमार्गमा टिपर आन्दोलन, स्थिति तनावग्रस्त (फोटोफिचर)



विराटनगर : टिपर व्यवसायी संघले आह्वान गरेको टिपर र्‍यालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा रहेको ढाँट क्षेत्र अहिले तनावग्रस्त बनेको छ । 

 

पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकबाट विराटनगरसम्म टिपर र्‍यालीको आयोजना गरिएको थियो । उक्त र्‍यालीमा तीन सय बढी टिपर सहभागी छन् । 

 

र्‍याली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ । 

 

आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिती असामान्य बन्दै गएको छ । र्‍याली साढे १२ बजे ढाँटमा आइपुगेको थियो । विराटनगरको रोडशेष चोकसम्म पुग्ने योजनासहित निकालिएको र्‍यालीलाई प्रहरीले अघि बढ्न दिएको छैन ।   

 

अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको छ । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ ।

 

र्‍यालीमा सहभागी टिपरले छ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

 

स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । परिचालन गरिएकामा सशस्त्र प्रहरीको संख्या अधिक छ । गत सोमबार सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । 

 

त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन अन्तर्गत टिपर व्यवसायीले शुक्रबार खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर र्‍यालीको आयोजना गरेका हुन् । 

 

तर प्रहरीले रोकेपछि र्‍यालीले विराटनगर महानगरपालिका प्रवेष गर्न पाएन । टिपर व्यवसायीकातर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको बताए । 

 

उनले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग राखेर आफूहरु आन्दोलित बनेको जानकारी दिए । 

सिंहले आगजनीका कारण टिपर व्यवसायीले करोडौंको नोक्सानी बेहोर्नु पर्दा पनि राज्य मुकदर्शक बनेको बताए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए । 

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिव १० घण्टा निशेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए । 

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिंदा स्थिती खराब हुने भएपछि टिपर र्‍यालीलाई बीचमै रोकिएको जानकारी दिए । उनले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाईबुझाई गर्ने काम भइरहेको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्