पाठेघरमा साढे ३ किलोको ट्युमर, मोरङ सहकारी अस्पतालले गर्‍यो सफल शल्यक्रिया



विराटनगर : सामान्य एक महिलाको पाठेघरमा साढे ३ किलोको ट्युमर फेला परेपछि मोरङ सहकारी अस्पतालका डाक्टर अचम्मित भएका छन् । 

 

सामान्य पेट दुखेको आधारमा अस्पताल चेकजाँचमा आएकी विराटनगर–८ अमरटोलकी एक महिलाको पेटबाट यति ठूलो ट्युमर निकालिएको छ ।

 

 एकहप्ता सामान्य पेट दुखेर विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा चेकजाँचका लागि आएकी सुशीला साहको पाठेघरबाट साढे ३ किलोको ट्युमर निकालिएको हो ।

 

डाक्टर बालकृष्ण साहको नेतृत्वको टोलीले एक घण्टा लगाएर उक्त ट्युमर निकालेको छ । डा. साहकाअुनसार यो एक किसिमको बिनाइन ट्युमर हो र यसलाई मायोमा पनि भनिन्छ । 

 

यो क्यान्सर नहुने ट्युमर भए पनि यस्तो ट्युमर भएका एक सय जनामा एक जनासम्मलाई क्यान्सर हुन सक्ने उनले बताए । 

 

‘सुरुमा महिलाको पाठेघरमा ३० हप्ताको गर्भ जस्तो देखियो ।,’ डाक्टर साहले भने, ‘चेकजाँचका क्रममा यति ठूलो ट्युमर देखियो र सर्जरी गरेर निकालियो ।’ यति ठूलो ट्युमर हुनु भनेको असामान्य रहेको उनले बताए । 

 

बिरामीका आफन्तले पनि यति ठूलो ट्युमर निकालेपछि अचम्ममा परेको प्रतिक्रिया दिएका छन् । सहकारी अस्पतालको अपरेसन थिएटरबाट निकालिएर पोष्ट अपरेटिभ वार्डमा सुशीलाको थप उपचार भइरहेको छ । 

 

अस्पतालमा भेटिएका सुशीलाका आफन्त सुनिलकुमार रायले अस्पताल आउन नमान्दा नमान्दै अस्पताल ल्याएको र यति ठूलो ट्युमर देखेर आफूहरु अचम्मित भएको बताए । 

 

पाठेघरको ट्युमर किन हुन्छ भन्ने कुरा धेरैका लागि अहिले पनि खोजीको विषय बनेको छ । विभिन्न अनुसन्धानहरुका बाबजुद यसको कारण अझै पत्ता लाग्न नसकेको डा. साहले बताए । उनकाअनुसार वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यकताभन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ ।

 

त्यस्तै, धुम्रपान तथा मदिरा सेवनले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हँुदा यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ ।

 

 जसकाकारण महिलाहरूले नियमित पाठेघरको परीक्षण र कुनै प्रकारको ट्युमर भएकाहरूले ‘फलोअप’ मा रहनु बुद्धिमानी हुने डाक्टर साहको सल्लाह छ । 

 

प्रतिक्रिया दिनुहोस्