पछि हटे टिपर व्यवसायी, आन्दोलन स्थगित



विराटनगर : पूर्वाञ्चल टिपर व्यवसायी संघको आव्हानमा सुरु भएको आन्दोलन पाँच दिनका लागि स्थगित भएको छ । सुनसरीको इटहरीमा शुक्रबार दिउँसो सम्पन्न संघको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । 

संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि तत्काललाई आन्दोलन फिर्ता लिइएको पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले बताए । उनका अनुसार सरकारले सार्थक वार्ताका लागि आव्हान गरेका कारण यसअघि घोषणा गरिएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । 

कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा रहेको ढाँट क्षेत्रमा टिपर तेर्स्याएर राजमार्ग अवरुद्ध पारिएपछि शुक्रबार दिउँसो स्थिति तनावपूर्ण बनेको थियो । तर प्रशासनले हस्तक्षेप गर्ने बताएपछि व्यवसायी आफै टिपर फिर्ता लिएर इटहरीतर्फ लागेका थिए । 

प्रहरीले क्रेनको सहायताले टिपर हटाएर अवरुद्ध सडक सुचारु गर्ने तयारी गरेपछि व्यवसायी पछि हटेका हुन् । 

कोसी राजमार्गमा एम्बुलेन्स समेत चल्न नदिई व्यवसायी र चालकले टिपर तेर्स्याएर राजमार्ग अवरुद्ध पारेका थिए । सो क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

गत सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले सात वटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्