सप्तकोसीमा पानीजहाज सञ्चालन, भाडा ४५० रुपैयाँ



काठमाडाैं: गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । 

जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल चतरा बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा सुविधासम्पन्न मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो । 

 शौचालयसहितको एक सय  यात्रु बोक्ने जहाज

शौचालयसहितको अत्याधुनिक सुविधासहितको एक सय यात्रु बोक्ने जहाज सप्तकोसी आइपुगेको छ । सिसा भएको सिटमा पानीसमेत पस्दैन । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले जहाज ल्याएको हो । एउटा सय सिटे र अर्को २५ सिटे क्षमताका दुईवटा जहाजले सेवा दिन थालेका छन् । जहाज ल्याउन कम्पनीलाई बराह क्षेत्र नगरपालिकाले पनि सहयोग गरेको छ । कम्पनीले अब थप चारवटा जहाज पनि ल्याउने भएको छ । उच्च पहाडी क्षेत्रसम्मको सेवाका लागि १० सिटे दुईवटा जहाज ल्याउने प्रक्रियामा रहेको मरिन एन्ड रिसोर्टस् प्रालिका सञ्चालक नवीन पौडेलले जानकारी दिए । करिब आठ करोड १२ लाख रुपैयाँमा जहाज ल्याइएको उनको भनाइ छ । यसको पोर्ट चतरामा निर्धारण गरिएको छ । 

 पानीजहाजबाट १० मिनेटमै बराह क्षेत्र

सुविधासम्पन्न मिनी पानीजहाज हाल चतराबाट भोजपुर, धनकुटा रुटमा चल्दै आएको स्थानीय सरोज कोइरालाले जानकारी दिए । यो जहाज सञ्चालन भएपछि अहिले १० मिनेटमै बराह क्षेत्र पुग्न सकिन्छ । यसअघि सडक यातायातबाट चतराबाट डेढ घन्टा लाग्ने गरेको थियो । उक्त पानीजहाज काभ्रेको दोलालघाटसम्म सञ्चालनका लागि तयारी भइरहेको छ । दूधकोसीमा भएका ठुल्ठूला चट्टान फुटाएर बाटो बनाउन सरकारले बजेटसमेत विनियोजन गरेको छ । दोलालघाटसम्म जहाज चल्ने हो भने सडक यात्रामा दिनभरि लाग्ने सुनसरी एक घन्टामै पुग्न सकिनेछ ।

धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पाँच मिनेटमै पुगिन्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घन्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरि नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार आउन सात घन्टा लाग्नेमा अब जेटबोटबाट चतरा आएर सीधै दुई घन्टामा यात्रा गर्न सकिन्छ । पौडेलका अनुसार जहाज प्रतिघन्टा एक सय किमिसम्म रफ्तारमा लान सकिन्छ । तर, नदीको बहाव, ढुंगा तथा घाँसपातले भने बोटको गतिलाई नियन्त्रण गर्ने गर्र्छ ।

एक वर्षअघिबाटै  व्यावसायिक जेटबोट सञ्चालन

एक वर्षअघि सप्तकोसी नदीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालनमा आएको थियो । नेपाल रिभर ट्रान्सपोर्ट कम्पनीले कोसी नदीमा व्यावसायिक बोट सञ्चालन गरिरहेको छ । यस्तै, बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले पनि सेवा दिइरहेको छ । दुवै कम्पनीले चतराबाट धनकुटाको हलेदे र भोजपुरको चुहारसम्म सेवा सञ्चालन गर्दै आएका छन् । चतराबाट ट्याक्सीमा दुई घन्टा लाग्ने बराह क्षेत्र मन्दिरमा पुग्न प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा लिने गरिएको छ । जहाजमा १० मिनेटमा यो यात्रा गर्न सकिन्छ । त्रिवेणी घाटसम्म भने ४५० रुपैयाँ भाडा तोकिएको नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्