हुचिललाई वडा पंक्षी घोषणा



खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ। जालपामा शुक्रबारदेखि सुरु दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो)लाई वडा पंक्षी घोषणा गरेको हो। वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउनेगरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष बिकास राईले बताए।

प्रकृतिको संरक्षणका लागि जालपामा हरेक वर्षको माघ महिनाको दोश्रो हप्ताको शुक्रबार लाटोकोसेरो तथा हुचिल उत्सव मनाउने, बाँदर तथा हानीकारक वन्यजन्तुलाई धपाउने प्रयोजन बाहेकका काममा गुलेली र ग्याँटिस पूर्णरुपमा प्रतिबन्ध गर्ने, नगरपालिका र वडा कार्यालयबाट श्रोत जुटाएर यस क्षेत्रमा पाईने लाटोकोसेरो, पुतली, स्तनधारी, उभयचर, वनस्पती लगायतका जैविक विविधताको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने, स्थानीय जालपामा माबि र ज्योती माबि अन्तरगत गठन गरिएका इ–को क्लवको क्षमता अभिबृद्धि गर्दै प्रकृतिमा संरक्षण गर्ने लगायतका बुँदा घोषणापत्रमा समेटिएको छ।

५ बुँदे घोषणा–पत्रमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ, मेयर दिपनारायण रिजाल, वडाध्यक्ष राई र प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले हस्ताक्षर गरेका छन्। लाटोकोसेरो तथा हुचिल उत्सव वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आयोजना गरिएको नागरिकमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्