रुपमति हत्या प्रकरण : हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन 



विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटना थप पेचिलो बन्दै भएको छ । 

 

घटना भएको एक सातासम्म पनि दोषी पक्राउ नपरेपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन् ।

 

 आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले शनिबार विराटनगरमा घटनाको विरोधमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले घटना अनुसन्धानमा प्रहरी प्रशासनको लापरबाही रहेको भन्दै तत्काल दोषी पत्ता नलगाए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् । 

 

विराटनगरको अशोक चौकबाट सुरु भएको विरोध प्रदर्शन बुद्ध चोक, घोघापुल चोक, रामजानकी मन्दिर, हनुमानस्थल मन्दिर, बुधहाट चोक, जलजला चोक, अस्पताल चोक देवकोटा चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

 

 आन्दोलतमा उत्रिएका स्थानीय बासिन्दाले प्रदेश १ को प्रदेशसभा भवन अगाडि पनि केहीबेर नारावाजी र प्रदर्शन गरे । विरोधसभामा बोल्नेहरुले अपराधीलाई प्रहरीले नै संरक्षण दिइरहेको आरोप लगाए । 

 

स्थानीय प्रकाश रायले प्रहरी प्रशासनकै मिलेमतोमा अपराधीलाई जोगाउने र लुकाउने प्रयास भइरहेको बताए । 

 

‘यति ठूलो जघन्य अपराध भएको एक साता वितिसक्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन । अनुसन्धानका नाममा केहीलाई पक्राउ गरिएको बताए पनि उनीहरु घटनामा संलग्न हुन् कि हैनन् भनेर सार्वजनिक गरिएको छैन,’ रायले भने, ‘प्रहरी अनुसन्धान नै शंकास्पद बनेर गइरहेको छ । गरिव पृष्टभूमिकी बालिकाको हत्या हुँदा अहिलेसम्म दोषी पत्ता लाग्न नसक्नुमा प्रहरी प्रशासनकै लापरवाही देखिन्छ ।’ रायले अनुसन्धानको नाममा प्रहरीले पीडित परिवारलाई ढाँट्ने र छल्ने मात्रै काम गरिरहेको आरोप लगाए ।

 

 ‘ठूला घरनाका व्यक्तिको हत्या भएको भए हत्यारा पत्ता लागिसक्थे । सामान्य परिवारमा घटना भएका कारण प्रहरीले पनि अनुसन्धानमा चासो दिएको छैन,’ उनले भने, ‘अपराधीलाई संरक्षण नमिलोस भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । अपराधको गाम्भिर्यता बुझेर जति सक्दो चाँडो दोषी पत्ता लगाउँदै पीडित परिवारलाई न्याय दिनु पर्छ भन्ने स्थानीयको माग हो ।’

 

कन्चनपुरकी निर्मला पन्तसंग मिल्दोजुल्दो यस घटनामा हत्या भएको एक साता वितिसक्दा पनि प्रहरी अनुसन्धान ठोस निस्कर्षमा पुग्न नसक्दा त्यसको चौतर्फी विरोध सुरु भएको छ । 

स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटनाको अनुसन्धान गरिरहेको जवाफ मात्रै दिने गरेको प्रहरीमाथि थप दबाव सृजना भएको छ । 

प्रतिक्रिया दिनुहोस्