दुर्व्यसनी युवाले बलात्कारपछि बालिका हत्या गरेको खुलासा



विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको हत्या लागूऔषधको दुर्व्यसनमा फसेका दुई युवाले गरेको खुलासा भएको छ । 

रुपमतीकै छिमेकी रहेका दुवै जनाले लागूऔषधको नसामा बलात्कारपछि हत्या गरेको पुष्टि प्रहरी अनुसन्धानले गरेको हो । दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । विराटनगर–८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोले बालिका दासको बलात्कारपछि हत्या गरेको खुलेको उच्च प्रहरी स्रोतले जनायो । 

घटना भएको एक सातापछि प्रहरीले वास्तविकता र दोषी पत्ता लगाउन सक्दा रुमपतीका परिवारले थोरै भए पनि राहतको महसुस गर्न पाएका छन् । अन्सारी र महतोलाई प्रहरीले घटना भए यता अनुसन्धानको दायरामा ल्याएको थियो । प्रमाण जुटाउन नसक्दा घटनामा उनीहरुको संलग्नता हो की हाइन भन्ने दोधारमा प्रहरी परिरहेको थियो । तर पक्राउ परेका दुबै जनाले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरी उच्च स्रोतले जनायो । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले ११ जनामाथि सोधपूछ गरेको थियो । 

पक्राउ परेकाहरु लामो समयदेखि लागूऔषधको दुव्र्यसनमा रहेको बताइएको छ । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लागूऔषधकै नसामा उनीहरुले बलात्कारपछि बालिका रुपमतीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । 

मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक मनोजकुमार केसीले अझै पनि घटनाको निचोडमा पुग्न केही प्रमाण सङ्कलन गर्ने काम भइरहेको बताए । प्रहरीले अहोरात्र खटिएर गरेको मेहनतअनुसार राम्रो उपलब्धी हाँसिल हुँदै गएको उनको भनाइ छ । केसीले घटना जघन्य प्रकृतिको भएकाले पनि प्रमाणसँग जोडेर हेर्नुपर्ने भएकाले अनुसन्धानमा समय लागेको बताए । उनले भने, ‘चाँडै हामी सबै कुराको निस्कर्षमा पुगेर घटनाको वास्तविकता बाहिर ल्याउने प्रयास गर्ने छौं ।’ 

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले घटनाको अनुसन्धान गर्न आवश्यक पर्ने धेरै प्रमाणहरु संकलनमै समय लगाउनुपरेको बताए । उनले प्रमाण संकलनमा समस्या हुँदा घटनाका दोषी पत्ता लाग्न समय लागेको बताए । 

मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार (माघ १३ गते) दिउँसो नांगो अवस्थामा रुपमतीको शव फेला परेको थियो । छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग शनिबार राति लगभग ८ बजे विदा मागेर हिंडेकी रुपमतीको शव हत्या गरेर फालेको अवस्थामा बगिरहेको खोलाको पानीभित्र भोलिपल्ट फेला परेको हो । त्यसअघि नै नहिमकहाँ टिभी हेरिरहेका बुवा रामप्रसाद घर फर्किएपछि मात्रै आमासँग विदा मागेर हिंडेकी छोरी टिभी हेर्न नगएको खुलेको थियो । 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि अलि परको खोलाको डिस्कोको चउरमा पु¥याइ त्यसपछि पालैपालो बालात्कार गरेको खुलेको छ । बालिकाले चिच्याउन र कराउन खोजेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेको प्रहरी स्रोतको भनाइ छ । 

मुख र घाँटी थिचेर बलात्कार गरेकै कारण रुपमतीको मृत्यु भएको बताइएको छ । प्रहरीका अुनसार बलात्कार गरिरहेकै बेला त्यहीं छेउमा रहेको बाटो हुँदै राति एक वृद्धा हिंडेको देखेपछि ती युवाले रुपमतीलाई बगिरहेको खोलाको पानी भित्र फालेर हिंडेको खुलेको छ ।

त्यसअघि अन्सारी र महतोले रुपमतीकै एक आफन्त युवतीलाई बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यो प्रयास असफल    भयो । युवतीलाई निशाना बनाउनुअघि पनि एक महिलालाई अन्सारीले पाउरोटीमा लागूऔषध नाईट्रोसन मिसाएर खुवाएर बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कहिल्यै खानेकुरा नदिने युवाले पाउरोटी दिएपछि ती महिलाले खान मानिनन् । महिलाले खान अस्वीकार गरेपछि अन्सारीले नै पाउरोटी खाएका थिए । खाने क्रममा नाईट्रोसन भने भूइँमा खसाएका थिए । उक्त नाईट्रोसन प्रहरीले बरामद गरिसकेको छ ।  

‘पाउरोटीमा नाईट्रोसन मिसाउँदै महिलालाई खान दिएर नसामा लठ्याएर बलात्कार गर्ने योजना पनि बनाएका रहेछन्,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘महिलाले खान अस्वीकार गरेका कारण उनीहरुको त्यो योजना भने सफल हुन पाएन ।’ त्यसपछि रुपमतीकै आफन्त एक युवतीलाई उनीहरुले निशाना बनाएको र त्यो पनि असफल हुँदा घरबाट आमासँग विदा मागेर टिभी हेर्न निस्किएकी रुपमतीमाथि यो घटना हुन पुगेको प्रहरी अधिकारीहरुको भनाइ छ । महिलालाई पाउरोटीमा मिसाएर नाईट्रोसन खान दिएको घटनाले पनि अनुसन्धानमा धेरै ठूलो सहयोग पु¥याएको प्रहरीको भनाइ छ । 

रुपमतीले लगाएको चप्पल भने शव भेटिएकै दिन फेला परेको थियो । घटनामा संलग्नको पहिचान भएर पक्राउ परेपछि भने उनले लगाएका कपडा फेला परेका हो । प्रहरीले उनले लगाएको टोपी र कपडा भने सय मिटर आसपासमा मान्छे मर्दा शव जलाउनका लागि प्रयोग गरिने ठाउँमा फेला परेको जनाएको  छ । पक्राउ परेकाहरुले नै प्रहरीलाई घटनास्थल र रुपमतीको कपडा फालेको ठाउँ देखाइदिएका हुन् । रुपमतीले लगाएको टोपी, जामा, सुरुवाल लगायतका कपडा बरामद गरिसकिएको प्रहरी भनाइ छ । 

‘हत्या गरेर शव नै खोलामा फालिदिएपछि पानीले प्रमाण नष्ट गरिदिंदा अनुसन्धानमा निकै ठूलो तनाव बेहोर्नु प¥यो,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘एक सातापछि भए पनि घटनाको गहिराईसम्म पुग्न सकियो ।’ उनका अनुसार शव पानी भित्र भेटिएको र पानीले घटनाको प्रमाण नष्ट गरिदिंदा अनुसन्धानका लागि सुरुमा कुनै भेउ पाउन सकिएको थिएन । 

पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि नै हत्या भएको पुष्टि गरेको छ । शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको थियो । अनुसन्धान र पोष्टमार्टम रिपोर्ट मेल खाएपछि तथा हत्यामा संलग्न पक्राउ परेर घटनामा आफूहरुको संलग्नता स्वीकार गरिसकेपछि प्रहरीले घटनाको सबै विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । प्रहरीले लागूऔषधको नसामा रहेका र चिनजानकै व्यक्तिले घटना गराएको हुन सक्ने अनुमान भने गर्दै आएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्