१९ व्यक्तिको र्यापिड परीक्षण रिपोर्ट नेगेटिभ, १० वटै स्थानीय तहमा परीक्षण गरिने



खोटाङ : जन्तेढुङ्गा गाउँपालिकामा विदेशबाट फर्किएका १९ व्यक्तिमा गरिएको कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) रिपोर्ट नेगेटिभ देखिएको छ । गत चैतयता विदेशबाट फर्किएका १९ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न बुधबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा १९ जनाकै रिपोर्ट नेगेटिभ देखिएको हो ।

रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन सम्बन्धित पालिकामै पुगेर र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्ने १२० वटा किट पठाएपछि गत चैतयता विदेशबाट फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने तयारी गरिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा क्रमशः अन्य स्थानीय तहमा पनि पुगेर हप्ता दिनभित्र र्यापिड डाइग्नोस्टिक टेस्टको काम पूरा गरिने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल संयोजकत्वको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिले वैशाख ५ गतेसम्ममा बराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विदेशबाट फर्केकाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिसक्ने तयारी गरेको छ ।

अभियानकै रूपमा खटिएको परीक्षण टोलीले वैशाख ६ गते ऐँसेलुखर्क र वैशाख ७ गते केपिलासगढी गाउँपालिकामा गएर र्यापिड परीक्षण गर्ने निर्णय गरेको छ । वैशाख ८ गते हलेसी तुवाचुङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका तथा वैशाख ९ गते साकेला गाउँपालिकामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्नेछ ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागेयता विदेशबाट एक जना मात्र फर्केको तथ्याङ्क छ । चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थप किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किए पनि चैतयता घर आएका व्यक्तिको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न लागिएको प्रजिअ पौडेलले बताए । रोजगारीको सिलसिलामा विदेश गएर घर फर्किएका अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शय्याको क्वारेन्टाइन र १३ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

जिल्लाका हरेक स्थानीय तहले आआफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरे पनि हालसम्म विदेशबाट फर्किएका २४ व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्