करेन्ट लागेर तीनजना घाइते 



विराटनगर : करेन्ट लागेर भूमि कन्स्ट्रक्सनका तीन कर्मचारी घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–४ का मोहम्मद रहिम, सञ्जिव पासवान र मुकेश पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

सडक विस्तारसँगै विद्युतको लाइन मर्मतका क्रममा पोलमा चढेका बेला उनीहरुलाई करेन्ट लागेको थियो । त्यसपछि उनीहरु लगभग १० मिटर अग्लो पोलबाट भुइँमा खसेका थिए । विद्युत प्राधिकरण विराटनगर विरतण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार घाइते तीनैजना भूमि कन्स्ट्रक्सनका कर्मचारी हुन् । कन्स्ट्रक्सन कृष्ण बोहराको हो । 

घाइतेमध्ये रहिमको अवस्था गम्भीर छ । उनको टाउकोमा रगत जमेको र हड्डी पनि फुटेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घाइते तीनै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । घाइते मजदुरले विद्युत प्राधिकरणको गल्तीका कारण घटना भएको बताएका छन् ।

 

विराटनगरको भृकुटी चोकस्थित फिडरको लाइन डाउन गरेको अवस्थामा उनीहरुले अर्को लाइनमा काम गर्दा दुर्घटना भएको प्राधिकरणले जनाएकाे छ। यस घटनामा प्राधिकरणको कुनै लापरबाही नभएको दाबी गर्दै सिंहले यसको क्षतिपूर्ति कन्स्ट्रक्सनले बेहोर्नुपर्ने बताए । कन्स्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा व्यवस्था नगर्दा घटना हुन गएको उनले बताए ।

 

प्राधिकरण प्रमुख सिंहका अनुसार भूमि कन्स्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाइन काटिएको थियो । त्योसहित अन्य चारवटा फिडरको पनि लाइन काटिएको उनले जानकारी दिए । उनका अनुसार भृकुटी फिडरका लागि मात्र विद्युत कटौती गर्न विराटनगर गेटदेखि पाञ्चालीसम्मको विद्युत कटौती भएको थियो । तर त्यसबाहेकको अर्कै फिडरलाई चलाउनु विद्युत प्राधिकरणको नियमविपरीत भएकाले ठेकेदार कम्पनीलाई यसबारेमा भनिसकिएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्