एक मिनेट ढिला भए पनि घर फर्कनुपर्छ शिक्षकले



काठमाडौं: ‘मिस तपाईंको घडीमा कति बज्यो?’ शिक्षिका दुर्गावती राजवंशील नाडी हेरिन्। भनिन्,‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ।’ सोमबार १० बजेर ५ मिनेट गएको थियो। मोरङको जहदा गाउँपालिका-१ स्थित जनता बाल आधारभूत विद्यालयको मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले भने,‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस्।’

‘हुन्छ फर्कन्छु, भोलिदेखि समयमै विद्यालय आइपुग्छु,’ शिक्षिका राजवंशीले भनिन्। उनले पछि सञ्चारकर्मीसँग भनिन्, ‘आफैंले बनाएको नियम हो, पालना नगरी सुखै छैन।’ यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए। शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ। यो नियम सबैले सहज रूपमा मान्दै आएका छन्। 

१० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए। विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक-विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए।

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन्। घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन्। विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन्। तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका रहेको खवर कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्