लागुऔषधसहित सात जना पक्राउ



विराटनगर : कानुनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको लागुऔषधसहित प्रहरीले मंगलबार प्रदेश १ का झापा, मोरङ र सुनसरीबाट सात जनालाई पक्राउ गरेको छ । 

 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बरामद भएको लागुऔषधमा खैरो हेरोइन पनि छ । खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका –६ पानमारास्थित स्कुल डाँडाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । 

 

प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले शंका लागि  चेकजाँच गर्दा को १ प ९९३६ र को २५ प ९५०९ नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने २९ वर्षीय निराजन मगरको साथबाट ८ सय २० मिलि ग्राम खैरो हेरोइन फेला परेको थियो । 

 

मगरसंगै मोटरसाइकलमा सवार २९ वर्षीय सुशन मगर र धरान–१५ विशाल चौक बस्ने २४ वर्षीय सन्जोग थापालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान – १८ शिवजी मार्ग का २२ वर्षीय सुनिल शाहीलाई लागुऔषध डाईजेल्याप २८ एम्पुल, एभिल २८ एम्पुल र लुपिजेसिक२८ एम्पुलसहित पक्राउ गरेको छ ।

 

 पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।  यता मोरङको विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

 

 लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३३ वानेश्वर बस्ने १८ वर्षीय विशाल थापालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । 

 

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा थापाका साथबाट लागुऔषध बरामद भएको प्रहीले जनाएको छ । उनको साथबाट लागुऔषध एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र नुफिन २० एम्पुल बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीका अुनसार बरामद लागुऔषधसहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । 

 

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

 दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको गेटबाट मे ३ प ८७७५ नम्बरको स्कुटरका चालक झापा शिवसताक्षी नगरपालिका–६ का २९ वर्षीय सुमन थापा र स्कुटरको पछाडि सवार २७ वर्षीय क्षितिज पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

उनीहरुको साथबाट प्रहरीले चार ग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी प्रदेश प्रहरी कार्यालय विराटगनरले दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्