बिप्लवसहित १६ जनालाई सफाइ



भोजपुर:  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । 

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव, प्रवक्ता खड्काबहादुर विश्वकर्मा , पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो । गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो ।

टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहालले बताउनुभयो ।

त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्