उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा



गाईघाट  : डेढ वर्षयता विद्युत कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो  उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युत्भार कटौती सुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ । 

पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै तीन करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । 

एक महिनाअघिसम्म दैनिक आठसय मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युत्भार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए । 

सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत्भार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ । 

एक दिनमा पाँचपटकसम्म पटकपटक विद्युत्भार कटौती हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखियता आएर ५० करोड रुपैयाँ भन्दा बढीको नाफा गर्न थालेका बेला विद्युत्भार कटौतीका कारण उद्योग पुनःघाटामा जान थालेको उद्योग प्रशासन बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्