क्वरेन्टीनमा राखेर कुलत छुटाउने नयाँ जुक्ति



झापा : झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वरेन्टीनमा राखेर पालिकाले कुलतबाट छुटाउने नयाँ तरिका अपनाएको छ ।

स्थानीय राजनीतिक दलहरुसँगको सहमतिमा नगरपालिकाले गरेको निर्णयअनुसार कुलतमा लागेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरेन्टीनमा राख्न थालेको हो ।

क्वरेन्टीनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय सुरु गरिएको हो । बन्दाबन्दीको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागुऔषध प्रयोगकर्तालाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वरेन्टीनमा राख्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए ।

क्वरेन्टीनमा राखिएका त्यस्ता व्यक्तिलाई लागुऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने उनले जानकारी दिए । मेचीनगर-८ मा रहेको इँटा भट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई विशेष क्वरेन्टीन बनाइ उनीहरुलाई बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए ।

उनकाअनुसार नगर क्षेत्रका १५० लागुऔषध प्रयोगकर्तालाई विशेष क्वरेन्टीनमा राख्ने योजना छ । बुधबार नै काँकडभिट्टा आसपासबाट सीमा काटेर भारततिर लागुऔषध लिन जाँदै गर्दा पक्राउ परेका छ जनालाई क्वरेन्टीनमा राखिएको छ ।

लागुऔषधको अभावमा भौतारिँदै हिँड्नेहरुबाट बन्दाबन्दी उल्लङ्घन मात्र नभएर सामाजिक अपराधका घटना बढ्नसक्ने आकलन गर्दै शान्ति सुरक्षाका लागि समेत उनीहरुलाई क्वरेन्टीनमा राखेर सुधार्न जरुरी भएको झापाका प्रहरी प्रमुख कोइरालाको भनाइ छ ।

नगरको कुनै पनि बजार र गाउँबाट लागुऔषधका प्रयोगकर्ताले बन्दाबन्दी उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ प्रहरीले स्थानीय जनप्रतिनिधिसँग मिलेर उनीहरुको खोजतलास गरी क्वरेन्टीनमा ल्याउने व्यवस्था मिलाएको छ । क्वरेन्टीनमा राखिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुरक्षाको विशेष व्यवस्था गरेको छ ।

क्वरेन्टीनमा कडा अनुशासनमा राख्नुपर्ने र त्यहाँबाट भाग्ने प्रयास हुने सम्भावनालाई ध्यानमा राखी प्रहरीले विशेष सुरक्षाको प्रबन्ध मिलाएको छ । क्वरेन्टीनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीले बताए ।

उनीहरुलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनुपर्ने भएको हुँदा मनोपरामर्शका लागि नगर क्षेत्रकै सुधार केन्द्रका विज्ञहरुलाई पालो मिलाएर क्वरेन्टीनमा परामर्शका लागि बोलाइएको जिल्लाका प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्