मोटरसाइकल सिक्दा लडेर मृत्यु



विराटनगर :  धनकुटा र तेह्रथुममा भएका दुई अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको  छ । 

धनकुटाको चौविसे गाउँपालिका–८ मा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भित्री सडक खण्डमा सिक्दैगरेको को १५ प ३७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १२ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएका कार्कीको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका–२ अस्वा भन्ने ठाउँमा परालले घर छाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

बिहीबार दिउँसो २ बजे घरको धुरीबाट लडेर घाइते भएका २८ वर्षीय बेदप्रकाश लिम्बुको उपचारका लागि धरान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अस्पताल म्याङ्लुङमा उपचार हुन नसकेपछि राति लिम्बुलाई धरान लगिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्