अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट 



विराटनगर :  नेपाल प्रहरीको सुरक्षा घेराभित्र रहेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले तीनवटा बम विस्फोट गराएको छ । 

प्रहरीले अहिलेसम्म कुन समूहले बम विस्फोट गराएको हो भन्ने यकिन गरिसकेको छैन । पूर्वी पहाडको संखुवासभा जिल्लामा नौ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ । 

संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउस (विद्युत उत्पादन गृह) मा राति अन्दाजी ८ः३० बजेतिर तीनवटा बम विस्फोट गराइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पावर हाउसबाट लगभग डेढ सय मिटर टाढा विस्फोट गराइएको बताउँदै कार्यालयले घटनाको अनुसन्धानका लागि सिनियर प्रहरी अधिकृतकै नेतृृत्वमा टोली परिचालन गरिएको जनाएको  छ । 

विस्फोटबाट सुरुङ् खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले विस्फोट गराउनेको पहिचान गर्न सकेको छैन । प्रहरीका एक अधिकृतले विस्फोट गराउनुको उद्देश्य थाहा नभएको भन्दै घटनामा संलग्नको खोजी भइरहेको जनाए । 

२०७४ सालको माघमा पनि त्यहीं विस्फोट गराइएको थियो । त्यतिबेला पावर हाउसको भवनका दुईवटा कोठामा क्षति पुगेको थियो । घटनाको एक वर्षपछि फेरी अर्को विस्फोट गराइएको हो । एक वर्षअघि गराइएको विस्फोटमा संलग्नको पहिचान हुन नसिकरहेको बेला पुनः अर्को पटक विस्फोट गराइँदा बहुप्रतिक्षित परियोजनाको सुरक्षा सवालमा प्रश्न चिन्ह खडा भएको छ ।

तीन वर्षअघि पनि नेत्रबिक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोही ठाउँमा रहेको परियोजनाको भवनमा आगजनी गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्