मञ्चमै ढलेर बेहाेस भएका गाउँपालिका अध्यक्षकाे निधन



एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।

 

शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएको थिए । ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो ।

 

उनलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए । 

 

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्