भारतमा बस्दै आएका बालकका हत्यारा आठ वर्षपछि पक्राउ 



विराटनगर : आठ वर्षअघि अपहरण गरेर बालकको हत्या गरेपछि भारतमा लुक्दै आएका मोरङको रंगेली नगरपालिका–४ का ४० वर्षीय ठेङवा भनिने रमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

 

१५ वर्षीय उपेन्द्र साहको हत्यामा संलग्न मण्डललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीकाअनुसार घटनापछि मण्डल भारतका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए । गाउँघरतिर आएको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

 

बालक उपेन्द्र २०६७ साल फागुन ८ गते घरैबाट बेपत्ता भएका थिए । बेपत्ता भएको चार वर्षपछि २०७१ कात्तिक १४ गते छिमेकीको शौचालयको सेफ्टी ट्यांकीमा उनले लगाएका कपडासहितको कंकाल फेला परेको थियो । 

 

अनुसन्धान गर्दै जाँदा सहोदर भिनाजु ४० वर्षीय शम्भु साहको योजनामा अपहरणपछि हत्या गरेर शव छिमेकी ईनरलाल मण्डलको शौचालयको सेफ्टी ट्याङ्कीमा हालेको खुलेको प्रनि कार्कीले बताए । सेफ्टी ट्यांकी सफा गर्ने क्रममा मानव कंकाल फेला परेपछि ईनरलालले प्रहरीलाई खबर गरेका थिए ।

 

शम्भुले ससुरालीको सबै सम्पत्ति हड्प्ने जाल बुनेर सालोको हत्या गर्ने योजना बनाएको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार भिनाजु शम्भुले रमेशको सहयोगमा बालकको अपहरणपछि हत्या गरेको पत्ता लागेको छ । 

यस अघि नै पक्राउ परेका बालकका भिनाजु शम्भु भने अदालतले फैसला गरेको कैद सजाय भुक्तान गरिरहेका छन् । उनलाई अदालतले २० वर्ष कैद सजायको फैसला गरेको थियो । घटनामा संलग्न भए पनि लामो समयदेखि फरार रहेका मण्डललाई समेत अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरले २० वर्ष कैद सजायको फैसला सुनाइसकेको छ । 

 

मण्डललाई २०७३ साल बैशाख २८ गते जिल्ला अदालत मोरङले एक वर्ष पाँच दिनको मात्रै कैद सजायको फैसला गरे पनि उच्च अदालत विराटनगरले उक्त फैसला उल्टाएको थियो । जिल्लाको गरेको फैसला अनुसारको कैद सजाय भुक्तान गरेर उनी छुटेका थिए । पछि उच्च अदालत विराटनगरले २०७४ साल जेठ ३० गते जिल्लाको फैसलालाई उल्टाएर २० वर्षको कैद सजायको फैसला गरेपछि उनी फरार बनेका थिए । 

पक्राउ परेका मण्डललाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ । उनी अहिले प्रहरी हिरासतमा छन् । 

 

त्यस्तै राहदानी किर्ते मुद्धाकी एक फरार प्रतिवादीलाई पनि प्रहरीले अदालतले दोषी ठहर गरेको सात वर्षपछि पक्राउ गरेको छ ।  मोरङको धनपालथान गाउँपालिका –६ कदमाहकी ४५ वर्षीय प्रमेश्चरीदेवी मण्डललाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

 

 मण्डललाई जिल्ला अदालत मोरङले २०६८ साल साउन १३ गते एक महिना कैदको फैसला गरेको थियो । प्रहरीका अनुसार फैसलापछि उनी फरार बनेकी थिइन । 

 

प्रतिक्रिया दिनुहोस्