दुई दिनमै पर्खाल भत्कियो, अनियमितताको आशंका



विराटनगर : प्रदेश १ सरकारको तराई–मधेस कार्यक्रमअन्तर्गत मोरङको जाहँदा गाउँपालिका–३ भातिगछमा निर्माण सुरु भएको बृहत् खानेपानी आयोजनाको सुरुवात्मै अनियमितता हुन थालेको छ ।

लगाएको दुईदिन पनि वित्न नपाउँदै बन्डी वाल लडेपछि अनियमितता पुष्टि भएको हो । अनियमितता गर्ने उदेश्यले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण पर्खात भत्केको स्थानीयको भनाइ छ ।

ईन्द्रानन्द रायको अध्यक्षतामा बनेको सात सदस्यीय उपभोक्ता समितिले ठेक्का लगाएर खानेपानी आयोजना निर्माणको कामलाई अघि बढाएको छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन  नम्बर ४ झापाको मातहतमा सुरु भएको आयोजनामा गुणस्तरहीन निर्माण सामग्रीकै कारण पर्खाल लगाउन नपाउँदै भत्किएको हो । 

आयोजना निर्माणका लागि जग उठाउन लगाइएको पर्खालमा स्थानीय खोलाको लेदो मिसिएको बालुवा र सस्तो मूल्यको पिकेट इँटाको प्रयोग गरिएको स्थानीय भागवत राजवंशीले बताए । श्री लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका उनले वन क्षेत्रमा आयोजना निर्माण सुरु भए पनि कामले गुणस्तरीयता प्राप्त गर्न नसकेको जनाए । उक्त क्षेत्रमा स्थानीयले १८ कठ्ठा ऐलानी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा वृक्षरोपण गरेका थिए । 

तीन वर्षभित्र करिव आठ करोड रुपैयाँको लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने योजना  छ । चालु आर्थिक वर्षमा १४ लाख २५ हजार रुपैयाँ आयोजनाको कामका लागि निकासा भइसकेको  छ । करिव छ कठ्ठा क्षेत्रफलमा आयोजनाका लागि आवश्यक पर्ने १६३ मिटर लामो पर्खाल लगाउने काम सुरु भएको थियो । 

वन अध्यक्ष राजवंशीले स्थानीय बासिन्दाले गुणस्तरीय काम गर्नुपर्छ भनेर आवाज उठाउँदा वडा अध्यक्ष अनिल ठाकुर लगायतका जनप्रतिनिधि आयोजना निर्माणमा भएको अनियमितताको ढाकछोप गर्न लागिपरेको बताए । उनले खानेपानी आयोजना निर्माणले स्थानीयमा ल्याएको हर्षलाई सुरुवात्मै भएको अनियमितताले दुःखमा परिणत गरिदिएको बताए । आयोजनाले हालसम्म कामका बारेमा कुनै पनि जानकारी सूचना बोर्डमा राखेर सार्वजनिक    गरेको छैन । 

स्थानीय कामदारलाई आयोजना निर्माण गर्न दिंदा कमसल सामग्रीका बारेमा कुरा उठाउने भएपछि ठेकेदारले कामदारसमेत बाहिरका ल्याएर प्रयोग गरिरहेको स्थानीय देवराज राजवंशीले बताए । उनले आयोजना निर्माण गर्न ओपीसी सिमेन्ट प्रयोग गर्नुपर्ने सम्झौता भएको भए पनि पीपीसी सिमेन्ट प्रयोग गरिएको जानकारी दिए ।

ओपीसीभन्दा पीपीसी सिमेन्टको मूल्य कम पर्छ । ‘पीपीसीले ओपीसी जति प्रभावकारी काम गर्दैन,’ देवराजले भने, ‘ओपीसी प्रयोग गर्नुपर्ने प्रष्ट सम्झौता हुँदाहुँदै पीपीसी सिमेन्ट प्रयोग गरेर अनियमितता गरिएको छ ।’ 

आयोजनाको काम गरिरहेका कामदाहरुले पनि पर्खालमा प्रयोग गर्नुपर्ने बालुवा, इँट र सिमेन्ट उपयुक्त नभएको बताए । ‘यस्ता धेरै आयोजनाका काम मैले गरें,’ एक मिस्त्रीले भने, ‘यति गुणस्तरहिन बालुवा प्रयोग गरेको पहिलो पटक देखें ।’ उनले जमिनमाथि पर्खाल लगाउन पिकेट इँट प्रयोग गर्न नमिल्ने भए पनि ठेकेदारले सस्तो पर्ने भएपछि पिकेट इँट नै प्रयोग गर्न आफूहरुलाई लगाएको सुनाए ।

पिकेट इँट, कमसल बालुवा र जोडाईमा प्रयोग गरिएको सिमेन्ट सही नभएका कारण बनाएको दुईदिन पनि वित्न नपाउँदै आयोजनाको पर्खाल लडेको कामदारको भनाइ छ । उनका अनुसार चालेको र लेदो नमिसिएको राम्रो बालुवा पर्खाल जोडाईमा प्रयोग गर्नुपर्छ । 

आयोजनाका इन्जिनीयर ज्योतिषकुमार मिश्रका अनुसार जमिनमूनि दुई फिट १५ इन्चको पर्खाल लगाउनुपर्ने सम्झौता रहेको बताए । पर्खाल सम्झौताअनुसार छ कि छैन भन्ने बारेमा आफूले अध्ययन गर्न नभ्याएको उनले बताए । मिश्रका अनुसार जमिनमूनि पिकेट इँट प्रयोग गर्ने र जमिनमाथिको पाँच फिट पर्खाल उठाउँदा नम्बरी इँट प्रयोग गर्नुपर्ने सम्झौता छ । तर ठेकेदारले भने जमिनमाथिको पर्खालमा पनि पिकेट इँट नै प्रयोग गरिररहेको पाइएको हो ।  

वडा अध्यक्ष ठाकुरले आयोजनाको काममा अनियमितता नगर्ने हिसावमा काम सस्तो खर्चमा सक्नका लागि आफूले सहजीकरण मात्रै गरिदिएको बताए । ‘गाउँमा बृहत् खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजनाका कारण सबै खुसी हुनुपर्ने हो,’ उनले भने, ‘तर अनावश्यक रुपमा विरोध गर्नेहरु बढी भए । यसमा वडाले सहजीकरण मात्रै गरिदिने भएका कारण अनियमितता भएमा वडा कार्यालयलाई दोष लगाउन मिल्दैन ।’  

ठेकेदार तिलक मास्के आयोजनामा कुनै पनि अनियमितता नभएको दावी गर्छन । धेरै समयपछि परेको वर्षाका कारण पर्खाल भत्कििन पुगेको उनको दावी छ । मास्केले उपभोक्ता समितिमार्फत वडा कार्यालयको निगरानीमा काम सुरु भएकाले यसमा अनियमितता हुनसक्ने र गर्न सकिने सम्भावना नरहने दावी गरे ।

‘हामीलाई जस्तो काम गर्नु भनेको छ त्यही गर्ने हो,’ उनले भने, ‘स्टिमेटअनुसार नै काम भइरहेकाले यसलाई गुणस्तरहीन भन्न मिल्दैन ।’ उनले भत्किएका ठाउँमा पुनः पर्खाल उठाएर आयोजनाको काम सुरु गरिने बताए । 

 

प्रतिक्रिया दिनुहोस्