ठूलो परिमाणको लागुऔषधसहित चारजना पक्राउ



विराटनगर : विराटनगर महानगरपालिकाका अलगअलग स्थानबाट प्रहरीले आइतबार राति ठूलो परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । 

 

विराटनगर–१० सन्सारी माईस्थानबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका –४ का २४ वर्षीय सुरेश माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले राति ८ बजे शंकास्पद अवस्थामा हिंडिरहेका बेला साह र माझीलाई पक्राउ गरेको हो । 

 

उनीहरुका साथबाट लागुऔषध तीन हजार ट्याब्लेट नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

 

त्यस्तै विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ का पुष्पबहादुर खड्कालाई १८ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाइजेल्याब, ६ एम्पुल एभिल र १८ एम्पुल फेनारगनसहित पक्राउ गरिएको हो ।

 

खड्कासँगै रहेका लागीगुराँस–२ कै २६ वर्षीय रामबहादुर गुरुङलाई लागुऔषध स्पास्मोप्रोक्सिभन ट्याब्लेट २० चक्कीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्