सँगै बसेका प्रेमीले गरे प्रेमिकाको हत्या 



काठमाडौं :  भ्यालेन्टाइन डे नजिक रहकै बेला प्रेमीप्रेमिकालाई झस्काउने खालका घटना सार्वजनिक भएको छ । गत नौ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईलाई आफ्नै प्रेमीले हत्या गरेको घटना सार्वजनिक भएको हो ।

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ हत्या भएको थियो । प्रहरीले उनका प्रेमी ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । 

लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । प्रेमी राईले हत्या गरेको स्वीकार गरिसकेका छन्’, उनले भने ।

 डीएसपी श्रेष्ठका अनुसार विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

विदेश हुँदा लालबहादुरले सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको  विषयमा बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ ।

विवादकै क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्