दुर्घटना न्यूनीकरणका लागि गाडीको अगाडि सिसामा राखिएका सामग्री हटाइँदै



विराटनगर : गाडीको चालक बस्ने सिट अगाडिको सिसामा राखिने विभिन्न सामग्रीका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै प्रदेश १ मा ट्राफिक प्रहरीले त्यस्ता सामग्री हटाउन सक्रियता बढाएको छ । 

सबै खाले सवारी साधनको अगाडि सिसामा राखिएका सामग्री हटाउनै पर्ने नियम प्रदेशका १४ वटै जिल्लामा लागू गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रवि पौडेलले बताए । उनले सजावटका नाममा विभिन्न सामग्री राखिँदा त्यसले गम्भीर खाले दुर्घटना निम्त्याइरहेका कारण हटाउन प्रदेश भरी नै नौलो अभियान सुरु गरिएको जानकारी दिए । 

ट्राफिक प्रहरीले विभिन्न समयमा भएकामध्ये २० प्रतिशत दुर्घटना यस्ता सामाग्रीका कारण भएको निष्कर्ष निकालेको छ । विशेष गरेर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा चालकदेखि अगाडिका सिसा नै ढाक्ने गरी सजावटका नाममा विभिन्न सामाग्री राख्ने गरेको पाइन्छ । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि यस्ता बस्तु हटाउन पटक÷पटक आग्रह गर्दा पनि चालक र सम्बन्धित सवारी धनीले नमानेपछि हटाउन ट्राफिक प्रहरी आफै सक्रिय भएको हो । दोहो¥याएर यस्ता बस्तु गाडीको सिसामा राखेको पाइएमा ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गरिने जानकारी एसपी पौडेलले दिए । 

चालु आर्थिक वर्षको माघसम्ममा प्रदेशमा भएका सात सय २३ दुर्घटनामा एक सय चार जनाले ज्यान गुमाएका छन् भने एक हजार तीन सय २७ जना घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्