सरकार जिम्मेवार र मित्तब्ययी :  मुख्यमन्त्री राई



विराटनगर : प्रदेश १ का प्रदेशप्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङले सरकारको काम कारवाहीबाट प्रदेशवासीलाई सन्तुष्टि मिलेको बताएका छन् । 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले तत्काल प्रतिफल खोज्नका लागि एक वर्षको समय छोटो भएको उल्लेख गरे ।

त्यस कार्यक्रममा प्रदेश प्रमुख डा. तुम्बाहाङले प्रदेश सरकारले एक वर्षको उपलब्धि समेटेर तयार पारेको पुस्तक सार्वजनिक पनि गरेका थिए । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार जिम्मेवार बनेर मितव्ययी ढंगबाट अघि बढिरहेको बताउँदै सरकार जनतामा सुरक्षा, सुशासन र सम्मानको अनुभूति दिलाउन सफल भएको दावी गरे । 

सरकारको पहिलो वर्ष अन्य प्रदेशभन्दा कानुन निर्माण पक्षमा अग्रस्थानमा रहेको उनको दावी छ । मुख्यमन्त्री राईले केही महिनाअघि प्रादेशिक योजना आयोगको गठन, आवधिक योजनाहरुको तर्जुमा, योजनाहरुको वर्गिकरण, वित्तीय अनुशासन कायम गर्न सक्नु उपलब्धिमुलक भएको स्पस्ट पारे । 

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुन्यताबाट आफूलाई अघि बढाउँदै प्रदेश सरकारको एकवर्ष विभिन्न विकास तथा भौतिक पूर्वाधार निर्माणमा उपलब्धिपूर्ण रहेको बताए । प्रतिपक्षी दल तथा अन्य क्षेत्रबाट एक वर्षे समयको आलोचना भइरहँदा रक्षात्मक भूमिकामा उपस्थित भएका भण्डारीले यसक्रममा भएका विविध कमीकमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने र जिम्मेवारीलाई आत्मसात गर्ने प्रष्ट्याए । दुई तिहाइ बहुमतसाथ गठित सरकारले उत्तरदायी बन्दै जनताका आकांक्षाहरु पूरा गर्न नसकेको खण्डमा संघर्षबाट प्राप्त उपलब्धि, व्यवस्थाप्रति जनतामा वितृष्णा पैदा हुनेतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । 

यसैबीच प्रदेशको शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरलाई दुई सयवटा मोटरसाइकल प्रदेश सरकारले हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी प्रमुख बल प्रदेश १ लाई ३० वटा मोटरसाइकल प्रदान गरिएको छ । यस्तै १४ वटा मोटरसाइकल आपतकालिन कार्य सञ्चालन केन्द्रले प्राप्त गरेको छ भने बाँकी पाँच वटा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ । सरकारले मोटरसाइकल खरिदमा छ करोड नौ लाख ९० हजार एकसय रुपैयाँ खर्च भएको जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयलाई सरकारले १५ थान पिकअप भ्यान समेत उपलब्ध गराएको छ । जसको मूल्य चार करोड ५५ लाख ८३ हजार पाँचसय रुपैयाँ रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गएको एक वर्षमा सरकारले प्रहरीसँग हातेमालो नामको कार्यक्रमअघि बढाएको थियो । जसमा प्रहरीका बारेमा सबै जानकारीसहित सूचनामुलक स्टिकर प्रदेशका घरघरमा टाँस गरिएको थियो । बढ्दो सवारी दुर्घटना नियन्त्रणका क्रममा सरकारले सुनसरीको कोसी गाउँपालिकामा यात्रु तथा चालकलाई आराम गर्न रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरेको छ । 

चालु आर्थिक बजेट

प्रदेश सरकारले माघ पहिलो सातासम्म वार्षिक बजेटको ६.२६ प्रतिशत रकम मात्र खर्च गर्न सकेको  छ । सरकारले वार्षिक बजेट ३५ अर्ब ९३ करोड ६० लाख १४ हजार रुपैयाँ विनियोजन गरेको भए पनि हालसम्म दुई अर्ब ३५ करोड चार लाख ४३ हजार ३७८ रुपैयाँ खर्च गरेको छ । निजी क्षेत्रले लगानीको मार्ग तथा निर्धारित रकम खर्च गर्न नसक्दा सरकार आफै ढिलो गतिमा अघि बढेको आरोप लगाउँदै आएको छ । 

कार्यालय स्थापना र कर्मचारी अभाव

गएको एकवर्ष अन्यौलतामा विताएको आरोप खेप्दै आएको प्रदेश १ सरकारले ११ वटा मन्त्रालयस्तरीय कार्यालय तथा मन्त्रालय अन्तर्गत १५५ वटा निर्देशनालय तथा जिल्लास्थित कार्यालय स्थापना गरेको जनाएको छ । 

गएको माघ पहिलो सातासम्म प्रदेश मन्त्रालयहरुमा २९४ र मातहत निकायमा एक हजार ८२६ जना गरी कूल दुईहजार १२० जना कर्मचारी पदपूर्ति भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, अझै पनि प्रदेशमा एक हजार ७६२ कर्मचारी दरबन्दी अपुग रहेको छ । जसका कारण प्रदेशको काम कारवाहीमा सोचेजस्तो चुस्तता आउन नसकेको प्रदेश सरकारको भनाइ छ । 

विपद् व्यवस्थापन

केही वर्षअघि तराई क्षेत्रमा गएको बाढी त्यसको क्षति र पहाडी क्षेत्रमा हुने भूक्षयलाई लक्षित गर्दै सरकारले १४ जिल्लाको १३७ स्थानीय तहमा विपद्सम्बन्धी तालिम प्रदान गरेको छ । त्यसैगरी सरकारले पाँचथर, तेह्रथुम, धनकुटाका विभिन्न सात स्थानीय तहमा भएको सुख्खा क्षेत्रलाई राहत उपलब्ध गराएको छ । 

कृषितर्फ

प्रदेश सरकारले भोजपुर, खोटाङ, सोलुखुम्बु, झापा, सुनसरी, उदयपुर, ओखलढुंगा, संखुवासभा, इलाम, धनकुटा र पाँचथरसमेत ११ जिल्लामा कृषि विकास निर्देशनालय मातहतमा रहने गरी कृषि ज्ञान केन्द्रको स्थापना गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्