सेनाका जर्नेल र कर्नेल सैनिक हिरासतमा



काठमाडौं : नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । आर्थिक अनियमितता गरेको अरोपमा उनीहरुलाई सैनिक हिरासतमा राखिएको हो ।

सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई छानबिनको लागि सैनिक हिरासतमा राखिएको सैनिक मुख्यालयले जनाएको छ ।

उनीहरु दुवैलाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा पाँच सैनिक अधिकारीलाई कारबाही

प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरुलाई सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जनाएको छ ।

राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको हो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे ।

सेनाले शुक्रबार सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई कारबाही गरेको थियो । जसमा महासेनानी भुपालमान अधिकारीसँग बिगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुल उपर गर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्