टोखामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु



काठमाडौं : काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ।

बिहान ५ बजे बा ८५ प ५६६ र बा९१प ११८८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्