चट्याङ लागेर एकको मृत्यु, १० घाइते 



पाँचथर : पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

शनिबार दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा रिफर गरिएको छ ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान भएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठजना घाइते भएका छन् ।

स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेका मानिस घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागेर जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात् घर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्