प्रदेश १ मा ३ दिन प्रजातन्त्र दिवस मनाइने



विराटनगर: प्रदेश १ मा ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने भएकाे छ। दिवश मनाउनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ।

समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दिपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले नेपाल पत्रकार महासङ्घ प्रदेश समितिलाई विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवम् अन्तक्रिया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताए। यसअघि केन्द्र सरकारले पनि तीन दिन नै देशभर प्रजातन्त्र दिवश मनाउने निर्णय गरेकव थियो।

प्रतिक्रिया दिनुहोस्