विराटनगरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै 



विराटनगर : प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । त्यसका लागि तयारी तीव्र पारिएको छ ।

फागुन १५ गतेदेखि २४ गतेसम्म दस दिनसम्म आयोजना हुने महोत्सवमा नेपालसहित छवटा मुलुकको सहभागिता रहनेछ । नेपालको नेतृत्व विराटनगरस्थित सुशीला कोइराला नाट्यघर आरोहरण गुरुकुलले गर्नेछ । गुरुकुलले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवलाई भव्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ । 

गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले नाट्य क्षेत्रलाई जीवित बनाइराख्न आरोहणले नयाँ थालनी गरेको जानकारी दिए । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको कलाकार मञ्चमा उत्रिँदा विराटनगरवासीले नौलो अनुभव गर्न पाउनेछन् । प्रस्तुति पनि नौलो रहनेछ ।’ 

विराटनगर महानगरपालिका संरक्षक रहेको महोत्वसका लागि करिब ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महोत्वसमा एक सय विदेशी र त्यति नै संख्यामा नेपाली कलाकारको सहभागिता रहने गुरुकुलका महासचिव विवश पोखरेलले बताए । 

उनका अनुसार गुरुकुलले महोत्वसको सुरुवात ‘विराट पर्व’ नामक नाटकबाट गर्ने भएको छ । विराटनगरको भेडियारीमा रहेको विराट राजाको दरबारसँग जोडिएको नाटक विराट पर्व गुरुकुलले मञ्चन गर्ने भएको हो ।

त्यसैगरी बंगलादेशबाट ‘मातब्रिङ’, इटालीबाट  ‘डिसापारासिड ओएस ४३’, भारतबाट ‘चम्पावती’, श्रींलकाबाट ‘लभ एन्ड लाइफ’, अफगानिस्तानबाट ‘ता राहाये’ नामक नाटक मन्चन हुनेछन् । त्यसैगरी झोराहाट नाट्य समूह, परिवर्तन थिएटर काँकडभिट्टा, थिएटर नेपाल उदयपुर र कदम थिएटर दमकको समेत प्रस्तुति रहने कलाकार अशोक गौतमले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्