आपसी मतभेद त्याग्न दलहरुलाई आग्रह 



विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले तिक्ततापूर्ण व्यवहार र मतभेद त्याग्नका लागि सबै दललाई आग्रह गरेका छन् । 

दलहरुबीचमा रहेको मतभेदकै कारण मुलुकको विकास हुन नसकेको उनले बताए । उनले तिक्तता, मतभेदहरुलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

विराटनगरमा मंगलबार ६९औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले संघीय सरकार र प्रदेश सरकारबीचको तिक्तता पनि अन्त्य हुनुपर्नेमा जोड दिए । जनताले विकास र समृद्धिको जनादेश दिएकाले जनादेशको कार्यान्वयनको पक्षमा आफूहरु उभिएको उनले उल्लेख गरे ।

प्रदेश सरकारको एकवर्षे कार्यकाल सुस्त भएको भन्ने टिकाटिप्पणीप्रति मन्त्री कार्कीले समृद्धिका लागि सरकार, राष्ट्रसेवक सबैले एक भएर कार्य गर्नुपर्ने अवस्था रहेको बताए । जनताको बलमा प्राप्त जनादेशमा निराशा छाउन नदिनका लागि प्रदेश सरकारले बनाएको योजना, घोषित कार्यक्रमलाई पूर्णता दिनुपर्ने अभिभारा आफूहरुको काँधमा रहेको मन्त्री कार्कीको भनाइ छ । 

समाजिक विकासमन्त्री जीवन घिमिरेले नेपाली जनतामा अझै पनि हिजोकै सामान्तवादको ढर्रा यथावत रहेको बताए । सामन्तवादी ढर्रालाई विस्थापित गर्दै लोकतान्त्रीकरण गर्ने भन्ने चुनौतीको विषय आफूहरुबीच समस्याका रुपमा रहँदै आएको उनको भनाइ छ ।

प्रदेश सरकारको संगठनात्मक संरचनाहरु अझै पनि लोकतान्त्रीकरण हुने क्रममै रहेको बताउँदै उनले लोकतान्त्रीकरणमा अभ्यस्त हुन नसक्दा आफूहरुले सोचेजस्तो कार्य गर्न नसकेको स्वीकार गरे । 

प्रजातन्त्र दिवसका अवसरमा प्रदेशस्तरीय समारोह समितिले विराटनगरको ट्राफिक चौकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रभातफेरीमा प्रदेशका कृषि, वन तथा पर्यटनमन्त्री जगदीश कुसियत, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश प्रहरी प्रमुख डीआइजी केदार रिजाल लगायतको उपस्थिति रहेको थियो । प्रदेशका मुख्यमन्त्री शेरधन राई काठमाडौंमा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । 

 

 

प्रतिक्रिया दिनुहोस्