युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान, एक गम्भीर घाइते



विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–१ मा मंगलबार राति दुई युवा समूहबीच दोहोरो झडप भएको छ । पुरानो रिसिइवीलाई लिएर विवाद बढ्दै जाँदा भएको झगडामा खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् । 

खुकुरी प्रहारबाट बुढीगंगा–१ का २० वर्षीय जीवन यादव घाइते भएका हुन् । उनको अवस्था गम्भीर छ । 

उनीमाथि बुढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत,  सुजित हिङमाङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षीय अभिषेक राई समेतको समूहले खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । 

खुकुरी प्रहारबाट दुवै हात, पेट र आन्द्रामा समेत चोट लागेका यादवको नोबेल मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । यादवको पेटको शल्यक्रिया गरिएको भए पनि अवस्था खतरा मुक्त नरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । 

मौसमसँग यादवको पुरानो रिसिइवी रहेको खुलेको प्रहरीले जनाएको छ । यादव समूहमा को को युवा थिए भन्ने बारेमा भने खुलिनसकेको प्रहरीको भनाइ छ । 

खुकुरी प्रहार गर्ने अभिषेक फरार छन् । उनको खोजी भइरहेको र अन्य चार जनालाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको एसपी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्