नगरपालिकाका कर्मचारी कुटेको आरोपमा पूर्वप्रधानपञ्च पक्राउ



विराटनगर : नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा मोरङको तत्कालीन बेलबारी गाविसका पूर्वप्रधानपञ्च असित राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेलबारी नगरपालिका–४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोवर्द्धन राईको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका पूर्वप्रधानपञ्च राईले कार्कीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

गोवर्द्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी जेठी श्रीमती गोमा राई आएर आफूले पाउनु पर्ने पेन्सन छल्नको लागि बनाउन खोजिएको बसाइँ सराइको कागज च्यातिदिएपछि भएको विवादमा कार्यालय सहयोगी कार्की पिटिएका हुन्  । 

राईले विवादका क्रममा त्यहीँ रहेकी गोवर्द्धनकी श्रीमती गोमालाई  समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । गोमाले नाताले श्रीमानको भिनाजु पर्ने असितले आफ्नो छातीमा लात्तीले हानेको बताइन् । 

राई विरुद्ध गोवर्द्धनकी जेठी श्रीमती गोमा र बेलबारी –४ वडा कार्यालयका सहयोगी होम कार्कीले छुट्टाछुट्टै उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्