भ्यान लुट्न चालकको हत्या गर्ने शिक्षक १० वर्षपछि पक्राउ  



विराटनगर : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मारुती भ्यान चालक २७ वर्षीय दीपक पाण्डेको हत्या बौद्धिक व्यक्तिले गरेको खुलेपछि प्रहरी नै अचम्ममा परेको छ । ४३ वर्षीय शिक्षक शरण भट्टराई हत्या आरोपमा पक्राउ परेका छन् । 

१० वर्ष अघि झापाको बिर्तामोड नगरपालिका–४ (साबिकको अर्जुन धारा गाविस–२) घर भएका पाण्डेको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेको २०६५ साल चैत ३१ गते राति हत्या भएको थियो । 

भट्टराईले पाण्डेले चलाउँदै आएको मारुती भ्यान लुट्न उनको हत्या गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यामा संलग्न भट्टराई पोखराको अन्नपूर्ण उच्च मावि र कसमस ईन्टरनेशनल कलेजका शिक्षक हुन् । 

शिक्षक भट्टराई २०६५ चैत २९ गते नाइट बस चढेर झापा आएको र त्यसको पर्सिपल्ट चैत ३१ गते पाण्डेको हत्या गरेको खुलेको छ । पाण्डेसँग मोबाइलमा सम्पर्क गरेर बिर्तामोड बजारबाट भ्यान रिजर्व गरेर इटहरीतर्फ लागेका भट्टराईले बीचमै चालकको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

चालक पाण्डेको हत्यापछि भ्यान आफै चलाएर पोखरा पुगेका भट्टराईले पोखरा उपमहानगरपालिका–९ का हिरा गिरीको घरमा उक्त भ्यान राखेका थिए । भट्टराईले पैसा आवश्यक परेको भनेर उक्त भ्यान राख्दै केही दिनका लागि भन्दै गिरीसँग ६५ हजार रुपैयाँ लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

हत्यापछि असुरक्षित महसुस गरेका भट्टराई श्रीमती र छोरासहित भारत गएका थिए । फागुन ७ गते भारतबाट झापाको काँकडभिट्टा आएको बेला इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्