जवरजस्ती करणी र वन पैदावार मुद्दाका २ फरार अभियुक्त पक्राउ 



विराटनगर : जवरजस्ती करणी र वन पैदावार मुद्दाका फरार दुई अभियुक्तलाई मोरङको लेटाङबाट प्रहरीले पक्राउ गरेको छ। अदालतले दोषी ठहर गरे पनि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी सहायक निरीक्षक दिपक कटवाल नेतृत्वको टोलीले पक्राउ गरेर शुक्रबार अदालतमा पेस गरेको छ।

अदालतले जवरजस्ती करणी मुद्दामा २ वर्ष ४ महिना २७ दिन कैद सजायको फैसला गरेका लेटाङ नगरपालिका–१ का २२ वर्षीय साने भनिने हस्तबहादुर लिम्बू र वन पैदावार मुद्दामा १ महिना कैद र २९ हजार ४ सय ८८ रुपैयाँ जरिवानको फैसला गरेका लेटाङ–८ का ३३ वर्षीय डिल्लीबहादुर राई पक्राउ परेका हुन्।

लिम्बूलाई जिल्ला अदालत मोरङले २०७३ साल फागुन ४ गते कैद सजायको फैसला सुनाएको थियो।अदालतले दोषी ठहर गरे पनि उनीहरू फरार रहेका थिए। पक्राउ परेका दुवै जनालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ।  

प्रतिक्रिया दिनुहोस्