कोरोना संक्रमितलाई हृदयाघात भएमा…



काठमाडौं : कोरोना संक्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ ।

संक्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले बिनयमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० संक्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन ।

कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित संक्रमणको लक्षण भए÷नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा संक्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई संक्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ ।

बन्दाबन्दीका अवस्थामा कोरोना संक्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ । केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६ सयसम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २ सय ४५ र यही जेठ २२ गतेसम्म ५ सय १० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७ सयसम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १ सय ६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २ सय ३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ ।

केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डा सुजीव राजभण्डारीका अनुसार उक्त अवधिमा यहाँ उपचारमा आएकामध्ये २ सय ४० जनाको आरडिटी गर्दा पाँच जनाको पोजेटिभ देखिएकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो । यहाँ मुटुरोगीमध्ये ४२ जनामा पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरी त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्काे भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ ।

गत पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकाले समूहगत र अस्पतालको खुला स्थानमा परीक्षणका लागि व्यवस्था मिलाइएको जानकारी दिए । यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । हाल यहाँ आकस्मिकका कूल ३४ शय्या छन् ।

नेपाल सरकारले तोकेबमोजिम केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न एवं गरीब बिरामीलाई निःशुल्क उपचार गरिन्छ । उमेर खुल्ने कागज र स्थानीय तहको सिफारिसका आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सिएजी, इपिएस–आरएफए, डायग्नोष्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ हाल सय चिकित्सक र ३०० नर्सिङ स्टाफ कार्यरत छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम स्थानका बिरामीका लागि भरपर्दाे टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ । आगामी आवका लागि संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख छ ।

चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ नेपाल सरकारबाट रु ४६ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ भने नियमित खर्च केन्द्र आफ्नै आम्दानीबाट हुने गरेको छ । सामान्यावस्थामा केन्द्रको मासिक आम्दानी रु १३÷१४ करोड हुने गरेको छ ।

‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७’ अनुसार स्थापित सो केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदेन अध्यक्ष र प्रशासकीय प्रमुखका रूपमा दैनिक प्रशासन सञ्चालन गर्नका लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । कूल ५२ रोपनी जग्गामा तीन भवनमा रहेको केन्द्रका संस्थापक अध्यक्ष डा अरुण सायमी हुन् ।

हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रका रूपमा सो संस्थाको स्थापना गरिएको हो । यसले मुलुकको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन हृदयरोगसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने काम पनि गर्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्