भाषा शास्त्री पोखरेलको निधन



विराटनगर: भाषाशास्त्री एवं साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आइतबार विहान निधन भएको छ । ८६ वर्षीय पोखरेलको विहान साढे १ बजे विराटनगरस्थित निवासमा निधन भएको हो । भारतको सिक्किम स्थित गान्तोकमा छोरीको घर गएको बेला उनलाई मस्तिष्कघात भएपछि काठमाडौं लगेर नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि विराटनगरमा ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि थप उपचारका लागि श्री अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनि घरमै आराम गरिरहेका थिए । पोखरेलको जन्म १९९० सालमा चिसापानीगढी, मकवानपुरमा भएको हो ।

उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भए । सो समयमा उनले बृहत् नेपाली शब्दकोषको सम्पादन गरेका थिए । पोखरेलका ३ दर्जनबढी कृति प्रकासित छन् । उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि मदन २०२१ सालमा पुरस्कार  प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्