भाषाविद् पोखरेलको परोपकार घाटमा अन्त्येष्टि



विराटनगर :  भाषाशास्त्री एवं वरिष्ठ साहित्यकार प्रा. बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिएको छ । 

उनको शवलाई श्रद्धाञ्जलि दिनका लागि कुनै सार्वजनिक स्थानमा भने राखिएन । शव यात्रासहित पार्थिव शरीर घाटमा पुर्याइयो । उनको पार्थिव शरीरलाई छोरा मुनाल पोखरेलले दागबत्ती दिए । पोखरेलको पार्थिक शरीरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि दिए । 

भाषाशास्त्री पोखरेलको सम्मानका लागि विराटनगर महानगरपालिकाबाट एक दिन सार्वजनिक विदा दिने तयारी गरेको मेयर भीम पराजुलीले बताए । पोखरेललाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेता, कार्यकर्ता, समालोचक साहित्यकार, शुभचिन्तक परोपकारघाट पुगेका थिए । 

नेपाली भाषा र साहित्यको संरक्षण एवं सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका नेपालका प्रथम भाषाशास्त्री ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ बजे विराटनगर–१० स्थित निवासमा निधन भएको थियो । साहित्यिक विद्धानहरुले पोखरेललाई भाषा र साहित्यका शिखर युगपुरुष भन्ने गर्छन ।

भाषाविद् पोखरेललाई भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला गत माघ ६ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । उपचारपछि विराटनगर ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि थप उपचारका लागि विराटनगरकै श्री अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पाँच दिनको उपचारपछि उनी घरमै आराम गरिरहेका थिए । विगतदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेपछि भाषाविज्ञ पोखरेलले नियमित औषधि सेवन गर्दै आएका थिए ।  

‘बहुआयामिक भाषिक युगपुरुषको निधनले नेपाली भाषा र साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ बरिष्ठ साहित्यकार दधिराज सुवेदीले भने, ‘हामीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभावक गुमाउन पुग्यौं ।’ उनले राष्ट्रको भाषा र साहित्यको गहनाका रुपमा लिइने पोखरेलजस्ता मुर्धन्य स्रष्टाको जन्म नेपालमा विरलै हुने गरेको बताए । 

रूपाबासी, बसन्त, वत्सल, ईसावापुर, लक्ष्मीबिलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल लगायतका दर्जनौं उपनामबाट भाषाविज्ञ पोखरेललाई नेपाली साहित्यमा चिन्ने  गरिन्छ । भारतको कोलकाता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर गरेका उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध भएका थिए । 

२०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गराएका पोखरेलले २०४६ मा अवकाश लिएर स्वतन्त्र रूपमा अध्ययन गरिरहेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य पोखरेलका ११५ वटा प्रकाशित र अप्रकाशित कृतिहरु रहेको बरिष्ठ साहित्यकार सुवेदीले बताए । उनका अनुसार पोखरेलका ‘बृहत नेपाली–अंग्रेजी–नेपाली’ शब्दकोष, ‘खस जातिको इतिहास’, पाँच सय वर्ष आदि महत्वपूर्ण कृतिहरु छन् । यिनै कृतिका कारण पोखरेललाई नेपाली साहित्यिक र बौद्धिक जगतले तीन पटक जन्मिएको युग पुरुषका रुपमा चिन्ने गरेको उनले बताए । 

प्राज्ञ विवश पोखरेलले नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवाका रुपमा सबैले बालकृष्ण पोखरेललाई चिन्ने गरेको बताए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत नेपाली शब्दकोषको सम्पादन पोखरेलले नै गरेका हुन् । प्राज्ञ पोखरेलले राज्य र समाजले कहिल्यै पनि बिर्सन नहुने र कदरयोग्य छापा छाडेर बालकृष्ण पोखरेल विदा भएको जनाए । उनले भने, ‘अब हामीलाई सधैं भाषा समस्याको समाधान गर्ने गुरु सबैले मान्ने मानक पुरुषको अभाव भइरहने छ ।’ उनले कथा, कविता, उपन्यास, काव्य, शब्दकोश, समालोचना, निबन्ध, अनुसन्धान सबै क्षेत्रमा पोखरेलको हस्तक्षेप प्रभावकारी र सम्प्रेषणीय रहेको बताए । बालकृष्णको ७५ प्रतिशत काम सकिएको ‘रुपारानी’ महाकाब्य प्रकाशित गर्ने सपना भने अधुरै रह्यो ।

‘नेपाली भाषा र साहित्य’ नामको शोधमूलक ग्रन्थका लागि गद्य विधामा पोखरेलले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । यसबाहेक उनी प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट पुरस्कृत भइसकेका छन् । उनी सिलसिला परिवार विराटनगर, चेतना संरक्षण प्रतिष्ठान समेतबाट अभिनन्दित व्यक्तित्व पनि हुन् । 

‘हाम्रा अग्रज गुरु पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ बरिष्ठ साहित्यकार सुवेदीले भने, ‘नेपाली भाषा र साहित्यमा पोखरेलको अनुपस्थितिको अभाव नेपाली समाजका सधैं भइरहने छ ।’

पोखरेलको जन्म बिक्रम संवत १९९० मा मकवानपुरको चिसापानीगढीमा बुवा सुब्बा शारदा पोखरेल र आमा कृष्णछाँयादेवीका सुपुत्रका रुपमा भएको हो । पोखरेलका एक छोरा र दुई छोरी छन् । श्रीमती शान्तादेवी पोखरेलको चार वर्षअघि निधन भइसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्