कोरियाली नागरिकले बाँडे लामखुट्टे नियन्त्रण गर्ने उपकरण  



विराटनगर : दुई जना कोरियाली नागरिकले मोरङमा लामखुट्टे मार्ने उपकरण वितरण गरेका छन्। विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गरेर दक्षिण कोरियाका व्यापारीहरूले ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण हस्तान्तरण गरेका हुन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी दक्षिण कोरियाको भ्रमणमा गएका बेला उनीहरूले मोरङमा मानविय सेवा गर्ने इच्छा देखाएका थिए। त्यही योजना अनुरुप विपन्न र आदिवासी जनजातिको बाहुल्य भएको ग्रामीण क्षेत्रमा उपकरण उपलब्ध गराइएको बताइएको छ।

कोसी अञ्चल अस्पताल र मनमोहन पोलिटेक्निकलाई पनि उपकरण उपलब्ध गराइएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका वडा अध्यक्षलाई सो उपकरण प्रदान गरे। सन् २०१७ देखि दक्षिण कोरियाबाट उपकरण, प्रविधि र सप्टवेयरको व्यापार गर्न नेपाल आएका छौ योङ छल र लि साङ्ग हुनले लामखुट्ट नियन्त्रण गर्ने उपकरण उपलब्ध गराएका हुन्।

कार्यक्रममा उनीहरूलाई नेपाली टाका टोपी लगाएर स्वागत गरिएको थियो। मुख्यमन्त्री राईले सुखी नेपाली,समृद्ध नेपालको नारामा अन्य देशका नागरिक पनि सहयोग गर्न तयार रहेको पुष्टि भएको बताए। विकास र समृद्धि सबैको साझा एजेन्डा रहेका बेला दक्षिण कोरियाली नागरिकले गरेको सहयोगको प्रसंशा गर्दै उनले अब विश्व जगत नै समृद्धिको यात्रामा सहयोग गर्न अग्रसर भइसकेको बताए।

विश्व जगतको चासो नै नेपालको समृद्धिमा बढ्दै गएकाले सबैसँग सहकार्य गरेर अघि बढ्न संघीय र प्रदेश सरकार तयार रहेको उनले बताए। उनले लामखुट्टको प्रकोप बढेसँगै विभिन्न प्रकारका रोग लाग्ने खतरा रहने भएकाले प्रदेश सरकार मच्छर नियन्त्रण गर्ने अभियानमा लाग्ने सुनाए। सामाजिक विकास मन्त्री जीवन घिमिरेले मच्छर नियन्त्रण गर्ने उपकरणले रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले मच्छर नियन्त्रण गर्ने मेसिनको प्रयोग गर्दा सचेत रहनु पर्ने बताए।

प्रतिनिधसभा सदस्य मोदीले सधैं जनताको सेवा गर्ने आफ्नो मुख्य लक्ष्य रहेकाले दक्षिण कोरियाका नागरिकको सहकार्यमा मच्छर नियन्त्रण गर्ने उपकरण भित्र्याइएको बताए। ग्रामीण भेगमा आदिवासी र विपन्न वस्तीमा मच्छरको टोकाईले धेरै रोगको प्रकोप बढ्ने खतरा भएकाले मच्छर नियन्त्रण गर्ने उपकरण वितरण गरिएको उनको भनाइ छ। त्यस अवसरमा मधेशका आदिवासी जनजाति समुदायका झाँकीहरू प्रस्तुत गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्