बहुला कुकुरले टोकेर दुहुना गाई मरे



झापा: झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् । 

वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले बताए । हाल रेविजविरुद्धको खोप वडा नं ३ सूर्यनगर र मङ्गलबारे क्षेत्रका पशु तथा मानिसलाई मर्नबाट बचाउनका लागि लगाइरहेको प्राविधिक भट्टाराईले बताए । आइतबार मात्र सो क्षेत्रमा मानिस र चौपायलाई गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ । 

उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराएको बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहोस्