सुनसरी–मोरङ करिडोरका ६० उद्योगमा विद्युत् कटौती



विराटनगर : सुनसरी–मोरङ औद्योगिक करिडोरका ६० वटा उद्योग तथा फर्ममा विद्युत् कटौती गरिएको छ । 

उद्योगले बिजुली प्रयोग गरेबापतको ठूलो रकम बुझाउन नसकेपछि विद्युत् कटौती गरिएको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए । उनका अनुसार बाँकी रहेको बक्यौता रकम सम्बन्धित उद्योगले भुक्तानीले नगरेसम्म ती उद्योगमा  विद्युत् आपूर्ति गराइने छैन । ‘महसुल नतिर्नेमा ठूला आद्योगिक घरनाका उद्योग पनि छन्,’ सिंहले भने, ‘पटकपटक ताकेता गर्दा पनि नतिरेपछि ती उद्योगमा विद्युत् आपूर्ति रोक्नुपर्ने अवस्था आएको हो ।’

बिजुली काटिएका उद्योगमध्ये स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आइरन, श्रीजी वायर्स, रामजानकी कोल्ड स्टोरजस्ता ठूला उद्योग छन् । 

व्यवसायी ऋषिमोहन रेग्मीको लगानी रहेको विराटनगर महानगरपालिका–४ को रामजानकी कोल्ड स्टोरले सात लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लाइन काटेपछि कोल्ड स्टोरमा व्यापारीले राखेका सामान बिग्रिन थालेका छन् ।

सिंहले महसुल नतिर्ने अन्य उद्योगको पनि विवरण निकाल्ने काम भइरहेको जानकारी दिँदै महसुल बुझाउन आनाकानी गर्ने सबै उद्योग तथा आद्योगिक प्रतिष्ठानका विद्युत् लाइन काटिने बताए । प्राधिकरणको बक्यौता रकमका बारेमा अनलाइनमार्फत सीधै केन्द्रीय कार्यालयले हेर्न थालेपछि केन्द्रको दबाबमा बाँकी बक्यौता धेरै रहेका उद्योगको धमाधम लाइन काट्न थालिएको उनले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्